महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ समारोहमा राष्ट्रपति सरिक
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ९, शुक्रबार
सो अवसरमा नेपाली सेनाको हेलिकप्टरले पुष्पवृष्टि गर्नाका साथै ‘सेना दिवस–२०७६’ लेखिएको ब्यानर प्रदर्शन गरेको थियो । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ गरेको थियो । बढाइँ कवाजअन्तर्गत लहरे र एकट्ठा प्रस्तुत गरियो । त्यस्तै सैनिक र नेपाली परम्परागत वेषभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो ।
कार्यक्रमलाई रोमाञ्चक तुल्याउने क्रममा सैनिक मञ्चमा मास पिटी प्रस्तुत गरियोे । त्यसअन्तर्गत पिटी, तेक्वान्दो, खुकुरी ड्रिल प्रस्तुत भयो । नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो ।
उक्त अवसरमा सैनिक हवाई महानिर्देशनालयको हेलिकप्टरबाट ब्यानर प्रदर्शन र हेलिकप्टर प्रदर्शनी र सैनिक ब्याण्डबाट ब्याण्ड डिस्प्लेसमेत प्रस्तुत गरियो । नेपाली सेनाले प्रयोग गर्दै आएका विभिन्न खालका सवारी साधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो । सो अवसरमा आगलागी नियन्त्रणमा सैन्य कौशलको नमूना अभ्यास प्रस्तुत भयो ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश चोलेन्द्र शम्सेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा उपस्थित हुनुहुन्थ्यो । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रिगण, सांसद, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि र समाजका लब्ध प्रतिष्ठित महानुभाव पनि शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल पुग्नुभएको थियो । समारोहमा नेपाल भ्रमणमा रहनुभएका बेलायती सेनाध्यक्ष मार्क कार्लटन स्मिथ अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।
शिवरात्रिको बढाइँ हेर्न टुँडिखेल वरपर सर्वसाधारणको घुइँचो लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजनलगायत विद्युतीय माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । समारोहपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यममा सेना बिटमा समाचार लेख्दै आउनुभएका पत्रकारलाई प्रधानसेनापति प्रशंसा पदक प्रदान गर्नुभयो ।
समाजका विभिन्न क्षेत्रबाट विशिष्ट योगदान पुयाएका महानुभावलाई पनि सो पदक प्रदान गरियो । समारोहमा उत्कृष्ट कार्य गर्ने सेनाका विभिन्न गणलाई पुरस्कार एवं निशान चिह्न प्रदान गरिएको थियो ।
Categorized in राष्ट्रिय


