महिलाको हत्यापछि ललितपुरको वनमा फालिएको पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ७, बुधबार
काठमाडौं– ललितपुरको लेले सामुदायिक वनमा नाङ्गो अवस्थामा फेला परेको महिलाको शव हत्यापछि फालिएको प्रहरीले पुष्टि गरेको छ । यस घटनालाई लिएर एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत असोज ४ गते नाङ्गो अवस्थामा करिब ४० वर्षीया खगेश्वरा दमाईको शव फेला परेको थियो ।
दमाईको हत्याको आरोपमा सुर्खेत लेकफर्साका गिरबहादुर परियालाई प्रहरीले पक्राउ गरेको छ । अपराधपछि सुर्खेत भाग्दै गरेको अवस्थामा परियारलाई गिरफ्तार गरिएको ललितपुर प्रहरी प्रमुख (एसएसपी) टेकप्रसाद राईले जानकारी दिएका छन् । पक्राउपछि परियारलाई ललितपुर ल्याइँदै छ ।
प्रहरीको अनुसन्धानको क्रममा मृतक दमाई र पक्राउ परेका परियार दुवै माघ २१ गते कामको लागि एउटा कृषि फार्ममा पुगेको पत्ता लागेको थियो । फार्मकै अधिकारीले मृतकको सनाखत गरेका थिए । मृतक र पक्राउ परेका दुवै लोग्नेस्वास्नी भएको जानकारी प्राप्त भएको छ । हत्या कसरी भयो थाहा हुन सकेको छैन । हत्याको कारण पनि पत्ता लागेको छैन ।
प्रहरी प्रमुख राईले बताए, “ललितपुर ल्याइसकेपछि मात्रै हत्याको कारणबारे सोधपुछ गरिनेछ । हत्याको कारण पोष्टमार्टमपछि थाहा हुन्छ ।”
शवलाई पोष्टमार्टमको लागि पाटन अस्पताल पुर्याइएको छ ।
Categorized in अपराध-दुर्घटना


