STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महोत्सव सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २४, आइतबार

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित वडा नं १ सापिङमा आयोजना गरिएको ‘प्रथम मूलखर्क–भीमसेन सांस्कृतिक महोत्सव २०७६’ पर्यटकीय गन्तव्य बनाउन सबै लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै शनिबार सम्पन्न भएको छ । मूलखर्क–भीमसेन मन्दिरको ऐतिहासिक महत्वलाई उजागर गर्दै त्यहाँका कृषि, पर्यापर्यटन विकास र प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न सकिने रमणीय क्षेत्रको भौतिक पूर्वाधार विकास गर्न स्थानीय सरकार र नीति निर्माण, सङ्घसंस्था र स्थानीय बासिन्दाले सो ठाउँको विकास गर्न सबै एक भएर लाग्नुपर्नेमा ऐक्यबद्धता जनाएका छन् । कार्यक्रममा प्रदेश नं ३ का सांसद लक्ष्मण लम्सालले प्रसिद्ध ऐतिहासिक तथा धार्मिक मन्दिरको प्रचार गर्दै सो क्षेत्रको भौतिक संरचना विकासका लागि आफ्नो तर्फबाट सहयोग गर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठले प्रसिद्ध मन्दिर भए पनि प्रचार–प्रसार अभावका कारण यसक्षेत्र ओझेलमा परेको बताउँदै आगामी दिनमा सो क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट सहयोग अगाडि बढिसकेको बताउनुभयो । “भीमसेनथान शक्तिको प्रतीक र धार्मिक केन्द्रको रुपमा रहेको स्थलको विकास र प्रवद्र्धन गर्नमा गाउँपालिका लागिपरेको छ ।” श्रेष्ठले भन्नुभयो, “त्यसका लागि गाउँपालिकाले मात्रै नभई सिङ्गो गाउँपालिकाका बासिन्दा यसको प्रचार–प्रसारमा लाग्न आवश्यक छ ।” स्थानीय बासिन्दा लेखनाथ श्रेष्ठले मन्दिरका लागि आवश्यक पर्ने खानेपानी व्यवस्थापनका लागि करीब रु ११÷१२ लाखको सहयोगमा धारा निर्माण गरिदिनुभएको छ । करीब दुई किलोमिटर तल खोलाबाट पानी लिफ्ट गरी धाराको व्यवस्था गरिसकेको बताउँदै श्रेष्ठले परापूर्वकालदेखि प्रसिद्ध रहेको भीमसेन मन्दिरमा दर्शन गर्न आउनेहरुका लागि पानीको व्यवस्था नभएपछि आफ्नो व्यक्तिगत लगानीमा धाराको व्यवस्था गरेको बताउनुभयो । मन्दिरका पुजारी पदमबहादुर पन्तले सो भीमसेन मन्दिरको दर्शन गरेमा चिताएको पुग्ने जनविश्वास रहेको बताउनुभयो । गाउँको उच्च भागमा जङ्गलको बीचमा रहेको सो भीमसेन मन्दिरमा मागेको कुरा पूरा हुने जनविश्वास रहेका कारण विभिन्न स्थानबाट दर्शन गर्नका लागि आउने भक्तजनको घुइँचो लाग्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ । महोत्सवमा पुगेका विभिन्न क्षेत्रका व्यक्तित्वले मूलखर्क–भीमसेनस्थानको विकास र त्यहाँका पर्यकीय क्षेत्रको उजागर गर्ने काममा सहयोग गर्ने जनाएका छन् ।
Categorized in राष्ट्रिय