STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माओवादीकाे आपत्तिपछि सरकारले फिर्ता लियाे मदन भण्डारी फाउन्डेसनलाई दिएको ५० लाख

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १७, सोमबार

नेकपा (माओवादी केन्द्र)को आपत्तिपछि बागमती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकम फिर्ता गरेको छ ।

प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सोमबार बसेको दोस्रो बैठकलाई संबोधन गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई दिएको रकम फिर्ता लिने निर्णय भएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले फाउन्डेसनलाई सहयोग गरिएको रकम फिर्ताको माग राख्दै सातौँ अधिवेशनको बैठक अवरुद्ध गरेको भन्दै रकम फिर्ता लिने निर्णय गरेको पौडेलले बताएका हुन् ।

‘मदन भण्डारी फाउन्डेसनलाई दिएको सहयोग रकमबारे माओवादी केन्द्रले आपत्ति जनाउँदै प्रदेशसभा अवरुद्ध गर्दा ध्यानाकर्षण भएको छ,’ पौडेलले भने, ‘यसर्थ फाउन्डेसनलाई दिइएको रकम ५० लाख फिर्ता गरिएको छ ।’

प्रदेश सरकारले सबै प्रतिष्ठानहरूलाई उपलब्ध गराउँदै आएको सहयोग रकम रोक्ने संकेत गरेको छ । मुख्यमन्त्री पौडेलले आगामी वर्षका लागि वीपी स्मृति प्रतिष्ठान, जीपी स्मृति प्रतिष्ठानलगायतका थुप्रै प्रतिष्ठानले सहयोगको लागि निवेदन दिएकोले प्रश्न चिह्न खडा भएको बताए ।

‘वीपी र जीपी प्रतिष्ठानहरूले सहयोगका लागि निवेदन दिइसकेका छन्,' उनले भने, 'अब भोलिका दिनमा के हुन्छ ? प्रश्न चिह्न खडा भएको छ ।’

उनले प्रदेश सरकारले विगतमा अग्रज राजनीतिज्ञको नाममा स्थापित प्रतिष्ठानलाई सहयोग गरेको भन्दै मदन भण्डारीको नामसँग जोडिएको विषय मात्रै किन उठेको भन्दै प्रश्न गरेका थिए ।

‘विगतमा पोष्टबहादुर बोगटी स्मृति पार्क, तुलसीलाल स्मृति प्रतिष्ठान, सुवर्ण शमशेर प्रतिष्ठान, सहिद प्रतिष्ठान नेपाल भरतपुर, लोककल्याण सेवा प्रतिष्ठानहरूलाई सहयोग उपलब्ध गराइसकिएको छ,' उनले भने, 'तर, मदन भण्डारीको नामसँग मात्रै किन विषय उठ्यो, भोलिका दिनमा समिक्षा होला नै ।’

Categorized in राजनीति