माझी समुदायः सरकारी जागिरतर्फ आकर्षित
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार
माछा मारेर जीविकोपाजर्न गर्ने माझी समुदायले आफ्नो पुर्खौली पेशा परिवर्तन गर्न थालेका छन् ।
अल्पसङ्ख्यकको सूचीमा रहेका कैलालीका माझी समुदाय माछा मार्न छोडेर अन्य पेशा रोज्न थालेका हुन् । नदी किनारमा बस्ने माझीको मुख्य पेशा माछा मार्ने हुन्थ्यो । विस्तारै माझी समुदायका युवा सरकारी जागिर रोज्न थालेका छन् । सरकारले माझीलाई अल्पसङ्ख्यकको सूचीमा राखेपछि माझीले हरेक क्षेत्रमा अवसर पाउनसमेत सजिलो भएको छ ।
माझी भएकै कारण टीकापुर–२ राजीपुरका अक्कलबहादुर माझीले कार्यपालिका सदस्य हुने अवसर पाउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘माझीले माछा मार्ने पेशा छोड्न थालेका छन् । माझीका पढेलेखेका छोराछोरी सरकारी जागिरतिर आकर्षित हुनथालेका छन् ।’’ कैलाली र बर्दियामा बस्ने धेरै माझीपरिवार दैलेख जिल्ला साविकको राकम कर्णाली गाविस हालको आठबीस नगरपालिका–४ बाट बसाईंसरी आएका हुन् ।’’ अक्कल भन्नुहुन्छ, ‘‘दलित र माझीको बस्ती रहेको राकम कर्णाली गाविसमा पढेलेखेका मानिस थिएनन् ।
मेरो बुबाले १२ खरी पढ्नुभएको थियो । त्यसैले सरकारले उहाँलाई गाविस सचिव बनाइदियो । तत्कालीन समयमा बुबा प्रधानपञ्चसमेत हुनुभयो । त्यसैले हामीले विद्यालय पढ्न पायौं ।’ १२ कक्षासम्म पढेका अक्क्लका दाई व्यापार गर्छन् । भाइले अङ्ग्रेजीमा स्नातकोत्तर सम्म पढेकोले शिक्षक छन् । टीकापुरमा माझीका तीन परिवार मात्रै छन् तर बर्दियामा एक दर्जनजति माझी परिवार छन् । सबैले पेशा बदल्न थालेका छन् ।
‘‘बर्दियामा नदी किनारमा रहेका केही माझी परिवार अहिले पनि माछा मार्छन् तर उनीहरु सबैका छोराछोरी विद्यालय जान्छन् । आफूले माछा मारेर भए पनि छोराछोरी पढाउने सपना माझी परिवारले देखेका छन् ।’’ अक्कल भन्नुहुन्छ, “नेपालमा झण्डै चार सय परिवार माझी बस्छन् । दैलेख र अछाममा धेरै परिवार अहिले पनि नदी किनारमै बस्छन् ।’’
उहाँका अनुसार दैलेखको राकमका नवीन माझी, दीपक माझी, नमराज माझी नेपाली सेनामा जागिरे छन् । दैलेखका माझीका ११ जना छोराछोरी शिक्षण पेशामा आवद्ध छन् । पाँचजना अधिकृत पदमा कार्यरत छन् । जसमा एकजना कानून अधिकृत हुन् भने अन्य चार जना प्रशासन तर्फका अधिकृत हुन् । उनीहरु विभिन्न जिल्लामा काम गर्छन् । अल्पसङ्ख्यक भएपछि १२ जनाले अल्पसङ्ख्यक तथा जनजाति कोटाबाट विभिन्न पेशामा सरकारी जागिर पाएका छन् ।
दैलेखका विनोद माझी अधिकृत पदमा कार्यरत छन् । विनोद एक वर्षअघि अधिकृतमा नाम निकाल्न सफल हुनुभएको हो । उहाँ जनजाति कोटाबाट अधिकृत हुनुभएको हो । ‘‘सरकारले अल्पसङ्ख्यकको सूचीमा माझीलाई राखेर राम्रो काम गरिदिएको छ । जागिर जस्ता अवसरमा माझी समुदायको आकर्षण बढेको छ, यो खुशीको कुरा हो’’, विनोद भन्नुहुन्छ, ‘‘तर अन्य सेवासुविधा केही दिएको छैन । अन्य सेवा पनि दिएको भए माझीको जीवन अझ सहज हुन्थ्यो ।’’
माझी समुदायका झण्डै ५० जना सरकारी जागिरे रहेको उनीहरु बताउँछन् । अहिले माझीका छोराछोरीको सरकारी जागिरप्रति आकर्षण बढेको छ । नेपालमा दुई थरिका माझी रहेको माझी अगुवा बताउँछन् । ‘‘माझीभित्र पनि पूर्वतिरका माझी र पश्चिमका माझी भनेर चिनिन्छन् । प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका कैलाली, बर्दिया, अछाम, दैलेख जिल्लाका नदी किनारमा माझीका परिवार बस्दै आएका छन् ।’’
साविकको दैलेखको राकम कर्णाली गाविसका तत्कालीन प्रधानपञ्च बजिरसिंह माझीले भन्नुभयो, ‘‘२० वर्ष पहिले केही माझी हुलाकीको रुपमा काम गर्थे । तर आजभोलि धेरै माझीका छोराछोरी अन्य पेशामा पनि जागिरे भएका छन् ।’’
Categorized in राष्ट्रिय


