मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २३, मंगलबार
विजयरत्न असंबरे
मातृभाषा पत्रकारिता दिवसका कार्यक्रमहरु स्थगित प्रत्येक वर्ष नेपाल संबतको बछलाथ्व १४ तिथिमा मनाइँदै आएको मातृभाषा पत्रकारिता दिवस यो वर्ष हाललाई नहुने भएको छ । विक्रम सम्बत अनुसार यो वर्ष २०७७/०१/२४ गते बुधबार परेको यो दिवसको सन्दर्भमा सम्पूर्ण मातृभाषी पत्रकारहरु मातृभाषा पत्रकारिता दिवस मनाउन उत्साहीत भएता पनि विश्वभर फैलिएको कोभिड १९ को महामारीले नेपाललाई पनि प्रभावित गरेको हुनाले नेपाल सरकारले लकडाउन आदेश जारी गरेको छ । सोही सन्दर्भमा हरेक वर्ष मनाइँदै आएको प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा ५ औँ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोखिम र यसबाट सुरक्षित रहन लकडाउनको आदेश पालना गर्दै नेवार पत्रकारहरुको राष्ट्रिय संंगठन नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजनामा हुने र्याली, धर्मादित्य धर्माचार्यको प्रतिमामा माल्यार्पण, सभा तथा सम्मेलन स्थगित गरिएको छ । त्यस्तै पत्रकार राष्ट्रिय दबूको ललितपुर शाखाबाट दिइँदै आएको धर्मादित्य पत्रकारिता पुरस्कार यो वर्ष नदिने यहि विज्ञप्तिमार्फत जानकारी गराइन्छ । स्थगित भएको मातृभाषा पत्रकारिता सम्मेलन र धर्मादित्य पत्रकारिता पुरस्कार सापेक्ष समयमा आयोजना गर्ने जानकारी पत्रकार दबुले दिएको छ । Categorized in राष्ट्रिय


