STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिलाप तीज उत्सवको तेस्रो संस्करण सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ भाद्र १०, सोमबार

मिलाप फाउण्डेशनको अायोजनामा विगतका वर्षहरुमा हुँदै आएको मिलाप तीज उत्सवको तेस्रो संस्करण हालै सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौं’ भन्ने मूल नाराका साथ मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीको सभापतित्वमा काठमाडौंमा एक विशेष समारोहबीच उक्त उत्सव सम्पन्न भएको हो ।

कला, साहित्य र गीतसंगीत क्षेत्रका प्रबुद्ध महिलाहरूको आथित्यता रहेको सो समारोह वरिष्ठ गायिका देविका वन्दनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा यमकुमारी कला सम्मान २०८१ बाट महिला द्वन्द्व निर्देशक किरण दाहाल, साहित्यकार राधा भण्डारी, रंग पत्रकार सवी कार्की खड्का, मेकअप आर्टिष्ट सञ्जु ढकाल, गायिका सुमी पराजुली, गायिका सरिता थापामगर (तोककुमारी मगर) र ट्याटु आर्टिष्ट सुनिता कुँवरलाई तीज मिलाप सम्मान अर्पण गरिएको थियो । 

यस्तैगरी सो समारोहमा गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा’का सर्जक स्रष्टालाई मायाको चिनो पनि प्रदान गरिएको थियो । गायिका सारिका घिमिरे, संगीतकार योगेश काजी शाह, कलाकार रिमोना लोहार, मिक्सिङ/माष्टरिङ मनोज परियार, निर्देशक/कलाकार प्रदीप रसाइली, कलाकार मुना भुर्तेललगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सञ्चारकर्मी रिना श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा गायिका सारिका घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो । तीजलाई परम्परागतभन्दा पनि सिर्जनात्मक रूपमा मनाउनुपर्ने जोड दिँदै प्रमुख अतिति वरिष्ठ गायिका वन्दनाले मिलापले गरेका कार्यको सहराना गर्नुभएको थियो । यस्तै सञ्चारकर्मी कमला जोशी र वुमेन्स एरा मिडिया ग्रुपकी अध्यक्ष प्रतिमा राईले तीजलाई भडकिलोभन्दा पनि सभ्य रूपमा मनाउनुपर्ने धारणा राख्नुभएको थियो । यसैगरी सम्मानित व्यक्तित्वकातर्फबाट साहित्यकार राधा भण्डारीले तीजको महत्व र यसको मौलिकता बारे प्रकाश पार्नुभएको थियो ।

वक्ताहरूले मिलापका कार्यको तारिफ गर्नुभएको थियो । अतिथिहरूले मिलापका कार्यको प्रशंसा गर्दै आउदा दिनमा पनि यसले निरन्तरता पाओस् भन्दै शुभकामना मन्तव्य राख्नुभएको थियो । उहाँहरूले पछिल्लो समय तीज भडकिलो बन्दै गएको र यसको मौलिकतालाई जोगाइराख्नुपर्नेमा जोड दिनुभएको थियो ।

विगत १४ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको मिलाप मासिकले नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रूपमा मनाउँदै उहाँहरूले समाजमा पुर्‍याउनुभएको योगदानको कदर स्वरूप सम्मान गरेको कार्यक्रमकी सभापति अधिकारीले बताउनुभयो । उहाँले यस कार्यक्रममा सहयोग पुर्‍याउनुहुने सबैमा आभार व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा नायिका सानिया खान गायिका मञ्जु लावती, कलाकार सरिता राजोपाध्याय, निर्माता रोशनी के सी, गायिका रानु निरौला, कलाकार गीता थापा, नम्रता खरेललगातका व्यक्तित्वको उपस्थति रहेको थियो । सो अवसरमा तीजको दर खानुका साथै दिदीबहनीहरूले तीजका गीतमा छमछमी नाचेका थिए । 

तस्वीर : मोहमद जलिम ।

Categorized in साहित्य-कला