मिस नेवाःका प्रतिस्पर्धीहरुको प्रतिभा प्रदर्शन
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ माघ २७, आइतबार
नेप्लीज फेसन होमले आयोजना गर्दै आइरहेको मिस नेवाः सौन्दर्य तथा प्रतिभा प्रदर्शन को प्रतिस्पर्धाको १८औं संस्करणको मिस नेवाः ११४५ का २० जना प्रतिस्पर्धिहरुले शनिवार काठमाडौंमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा आफूमा भएका उत्कृष्ट प्रतिभाहरु प्रस्तुत गरेका छन् ।
एनएफएच इभेन्ट्स प्रालिका अध्यक्ष हेमा मानन्धरको सभापतित्वमा सम्पन्न ट्यालेन्ट शोमा सहभागी प्रतिस्पर्धिहरुमध्ये अधिकांशले नेपालभाषाका लोकप्रिय गीतहरुमा आकर्षक नृत्य प्रस्तुत दिएका थिए । त्यस क्रममा उनीहरुले हाकुपतासि सहितको नेवार पहिरन पहिरिएका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यमा आयोजित ट्यालेन्ट शोमा केही प्रतिस्पर्धिहरुले समाचार वाचन, अभिनय, बाँसुरी वादन, चित्रकला, गायनमार्फत पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
ट्यालेन्ट शोको निर्णायकमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका भाइज प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, अधिवक्ता तथा माँ बगलामुखी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष लक्ष्मण महर्जन, गायक तथा सन्चारकर्मि सुरज बीर बज्राचार्य, नेपाल लिपि गुथीका अध्यक्ष अनिल स्थापित, लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५एलका पूर्व गभर्नर मणिश्री रत्न बज्राचार्य, मिस नेवाः ११३६ की उपविजेता तथा यूएनएक्स डान्स स्टुडियोकी सञ्चालक रिजिशा डंगोल रहेका थिए ।

आयोजक नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले मिस नेवाः ब्यूटी कन्टेस्ट मात्र नभएर नेवार समुदायको कला र संस्कृति जोगाउने अभियानसमेत रहेको र यस्तो अभियान नेवार समुदायमा मात्र नभएर हरेक समुदायमा हुनुपर्ने बताउँदै ट्यालेन्ट शोमार्फत पनि नेवार कला र संस्कृतिलाई उजागर गर्ने प्रयास रहेको उल्लेख गरिन् ।
ट्यालेन्ट शोमा सह-आयोजक तथा फाइट फर लाइफ नेपालका उपाध्यक्ष दिलकुमार महर्जन, नेपालभाषा तथा लिपि प्रशिक्षक राजु नापित, मिस नेवाः नेपाः ११४३ सकीना महर्जन, मिस नेवाः नेपाः ११४१ कृषा महर्जन, मिस नेवाः सामाजिक सेवा राजदूत प्रमुख ११४३ तिमिला महर्जन, मिसेस नेपाल क्यानडा २०२५ की उपविजेता रश्मी थापा, कलाकर्मीको प्रधानसम्पादक कृष्ण भट्टराई तथा सम्पादक अरुणा भट्टराई विशेष अतिथिको रुपमा सहभागी थिए । समारोहमा नविना शाक्य, दिवस श्रेष्ठ, सालिका चित्रकार, मनकृष्ण श्रेष्ठ अतिथिको रुपमा सहभागी थिए ।
Categorized in साहित्य-कला

