मुहान सुक्न थालेपछि संरक्षण थालियो
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २९, आइतबार
पछिल्लो समयमा विभिन्न कारणले खानेपानीका मुहान सुक्दै गएकाले संरक्षण गर्न थालिएको छ । पछिल्लो समय सडक निर्माण, वन जङ्गलको बिनास, जलवायु परिर्वतन तथा भूकम्पका कारण मुहान सुक्दै गएकाले संरक्षणका लागि पहल थालिएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले पहिलोपटक बागलुङ अभियानका रूपमा नगरपालिका–८ सिगानास्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको हो । हाल उक्त आयोजनाको मुहान मोटरबाटोका कारण सुक्दै गएकाले रु चार लाख खर्च गरी चुहावट हुन नदिन पक्की बनाइएको सो आयोजनाका अध्यक्ष रेशम थापाले बताउनुभयो । “मुहान संरक्षण गरे पुस्तौँसम्म खानेपानीको अभाव नहोला”, उहाँले भन्नुभयो, “मुहान संरक्षण भएपछि सङ्कटग्रस्त क्षेत्रमा समेत पानी आपूर्ति गर्ने योजनामा छौँ ।”जिल्लामा वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सडक निर्माण गर्नाका साथै भूकम्प तथा जलवायु परिवर्तनका कारण मुहान सुक्दै जान थालेपछि नमूनाका रूपमा सो कार्य गरिएकोे र अर्को वर्षदेखि योजनावद्ध ढङ्गबाट मुहान संरक्षणमा लागिने उक्त कार्यालयका डिभिजन प्रमुख प्रेमप्रसाद डोटेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय