STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेची अस्पतालमा बेवारिसे अवस्थामा महिला

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २४, बिहिबार

झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा छ महिनादेखि एक महिला बेवारिसे अवस्थामा रहेकी छन् । प्रहरीले सडकबाट उद्धार गरी छ महिना अगाडि अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिदिएको थियो । उनी हाल रोगबाट मुक्त भए पनि आफन्त वा संरक्षक कोही पनि लिन नआएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनले महिलाको आफन्त खोजी दिन वा संरक्षण गरिदिन सरोकारवाला निकायसमक्ष अनुरोध गरेको छ । राम्ररी बोल्न, आँखा देख्न र कान सुन्न नसक्ने ती महिला आफू भारतको दार्जिलिङ बजार छेउकी बासिन्दा भएको बताउने गर्छिन् । कसरी नेपाल आइन भन्ने उनी स्वयंलाई थाहा छैन । उनको छिरिङ नाम गरेको छोरो रहेको जानकारी दिएकी छिन् । दोहोरो कुराकानीसमेत गर्न नसक्ने उनी आफ्नो नाम डिकी तामाङ भएको बताउँछिन् । करिब ६० वर्षीया उनलाई प्रहरीले खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेर अस्पतालमा उपचारका लागि भर्ना गराएको थियो । अस्पतालको मेडिकल वार्डका इञ्चार्ज बिपी चौधरीले आफन्तको खोजी गरे पनि पत्ता लाग्न नसेको बताउनुभयो । “रेखदेख गर्ने आफन्त नभएका कारण अस्पतालले उनको सरसफाइमा दैनिक रु १०० खर्च गरिरहेको छ”, उहाँले भन्नुभयो, “बिरामी आफैँ हिँड्डुल गर्न सक्ने अवस्था छैन ।” यता, सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बा महिलाको आफन्त खोजीका लागि सक्रिय भएको बताउनुभयो । उहाँले विभिन्न सञ्चारमाध्यम तथा सम्पर्क व्यक्तिमार्फत महिलाको आफन्तको खोजी गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रयास भइरहेको छ, तर अहिलेसम्म फेला परेको छैन ।”
Categorized in राष्ट्रिय