STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमै पानी

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २६, सोमबार

काठमाडौं - शुक्रबारदेखि मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमा पानी बग्ने समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । 

शुक्रबारदेखि काठमाडौंका विभिन्न सडक खण्डमा पाइप फुटेर सडकमा पानी निस्किने र जम्ने समस्या व्यापक छ । स्थानीय बासिन्दा, व्यापारी, सवारी चालक र पैदलयात्रु यसका कारण सास्ती ब्यहोर्नु परिरहेको छ । मेलम्चीको पानी ठाउँअनुसार नयाँ र पुरानो दुवै लाइनबाट वितरण सुरु गरेपछि प्रणालीले थेग्न नसकेर समस्या देखिएको हो । 

 

केयूकेएलका अनुसार अहिले कतिपय सडकमा पानीका भुल्काहरू देखिएका छन् भने कतै रसाइरहेका छन् । कतै सडकभरि पानी नै पानी छन् भने वर्षामा जस्तै पानी उछिट्याउँदै सवारी साधन हुँइकिइरहेका छन् । केयूकेएलका कर्मचारी पुगेर पानी प्रभावित क्षेत्रको पानी बन्द गर्न समेत ढिलाइ भइरहेको छ । जमेको पानीका कारण सडक हिलो नै जमेको छ । मूल झैं फुटेर निस्केको पानी कतै नालै–नाला भएर ढलमा पुगेका छन् ।

सडकमा जताततै पाइप फुटेर पानी निस्किएपछि सडक विभागले पनि चिन्ता व्यक्त गरेको छ । मेलम्चीको पाइपलाइन र बिजुलीको तार बिछ्याउँदा बिग्रिएको सडक बल्ल–तल्ल ठीक हालतमा ल्याएको भन्दै विभागले सकड नबिग्रने गरी काम हुनुपर्ने बताएको छ ।

केयूकेएलका अनुसार मुख्यगरी पुराना भित्री शहरहरूमा पाइपलाइनबाट पानी चुहिने समस्या बढी देखिएको छ । कतिपय क्षेत्रका ढल प्रणालीमा पनि समस्या देखिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ ।

नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को पुरानो सञ्जालबाटै राजधानीको मुख्य सहरमा पानी पठाइएको छ । नयाँ वितरण सञ्जालबाट पानी पठाउँदा लैनचौरस्थित नेपाल स्काउटअघि पाइप फुटेर जलमग्न भएको थियो । जसका कारण पैदलमार्ग हिँड्न पनि समस्या भएको यात्रुको गुनासो छ । केही दिनमा फुटेको पाइप बनाएर नयाँ सञ्जालबाट पानी पठाइने जनाइएको छ ।

Categorized in उपत्यका