STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेलम्चीमा बाढी आउनुको कारण जलवायु परिवर्तन : विज्ञ

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ३१, आइतबार

विज्ञहरूले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी आउनुमा जलवायु परिवर्तन मुख्य कारण रहेको औंल्याएका छन् ।

मेलम्ची र त्यस वरपरको भौगर्भिक अवस्थाबारे अध्ययन गर्न गएका विज्ञहरूको टोलीले जलवायु  परिवर्तनका कारण त्यस क्षेत्रमा विपद् आइपरेको प्रारम्भिक निष्कर्ष निकालेका हुन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भूगर्भविद् डा. राजनकुमार दाहालले तापक्रममा ह्वात्तै वृद्धि भएका कारण त्यस क्षेत्रमा बाढीको विपत्ति आइपरेको अनुसन्धानका क्रममा आफूले पाएको बताए । उनले माइनस १२ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा जलवायु परिवर्तनका कारण ५ डिग्री सेल्सियस तापक्रम हुन जाँदा त्यस क्षेत्र पहिरो र बाढीको चपेटामा परेको बताए ।

‘जलवायु परिवर्तनका कारण हिउँ हुने ठाउँमा पानी परेको देखिएको छ । यसले प्राकृतिक विपत्ति आउनुको मुख्य कारण हो । यसको विस्तृत अध्ययन गरेर समस्या समाधानका लागि केन्द्रित हुनुपर्ने अवस्था छ,’ उनले भने ।

भूगर्भविद् दाहालले मेलम्ची र हेलम्बु क्षेत्रमा देखिएको समाधान तत्काल समाधान हुने अवस्थामा नरहेको बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले हालसम्मका ज्ञान, विज्ञान र स्थानीय अनुभवको आधारमा त्यस क्षेत्रको भूगोलको अध्ययन सुरु गरिएको बताए । उनले ती क्षेत्रहरूको जोखिम न्यूनीकरणका लागि आगामी हिउँदसम्म विस्तृत कार्ययोजना ल्याउने प्रतिवद्धता समेत जनाए ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आगामी हिउँदभित्र हेलम्बु र मेलम्चीको बाढीग्रस्त क्षेत्रमा सवारीसाधन चल्ने गरी आवश्यक व्यवस्था मिलाउने दाबी गर्दै निरास नहुन स्थानीयलाई आग्रह गरे । उनले मेलम्ची र हेलम्बु क्षेत्रको विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रम तत्काल तयार गर्न सरकारको पनि ध्यानाकर्षण गराए ।

सरकारले मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीसहितको विपद् आउनुको कारणबारे अनुसन्धान गर्न विज्ञहरूको टोली गठन गरेको थियो । टोलीले स्थलगत अवलोकन गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनमा सो क्षेत्रमा तत्काल बाढी, पहिरोको समस्या समाधान हुने अवस्था नरहेको उल्लेख गरिएको छ ।

Categorized in स्वास्थ्य-मौसम