यःसिँ ठड्याएर इन्द्रजात्रा सुरु
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र २२, बुधबार
काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा यःसिँ बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो ।
भक्तपुरको चित्तपोलबाट ल्याइएको यःसिँ हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ । यो यःसिँ गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।
एक सातासम्म चल्ने इन्द्रजात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ ।
इन्द्रजात्राको पहिलाे दिन आज साँझ पुरानो काठमाडौंको सिमाना घुमेर मृतकको नाममा बत्ती राखी उपाकू जाने गरिन्छ ।
Categorized in उपत्यका

