STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यमनमा प्रधानमन्त्री लक्षित बम विष्फोट, २२ जना मारिए

Janjati Khabar – एजेन्सी | २०७७ पौष १६, बिहिबार

यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्।

बीबीसीका अनुसार मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारी रहेका छन् । सो जहाजले छिमेकी देश साउदी अरबबाट नयाँ सरकारका सदस्यहरूलाई लिएर आएको थियो। जहाज अवतरण हुनासाथ विमानस्थलमा ठूलो विस्फोट भएको थियो। बुधबार भएको हमलाको एक भिडियो सार्वजनिक भएको छ, जहाँ हमला भएको स्पष्ट देखिएको छ।

मन्त्रिपरिषद्का नवनियुक्त सदस्यहरूलाई स्वागत गर्न विमानस्थलमा धेरै मानिसहरू उपस्थित भएका थिए। त्यहाँका सूचनामन्त्रीले यो हमलाको जिम्मेवार हुथी विद्रोही समूह रहेको बताएका छन्।

यमनका प्रधानमन्त्री मीन अब्दुल मलिक सइदले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएको बीबीसीले जनाएको छ । यमनको एउटा समाचार वेबसाइट अल-मस्दरले श्रम मन्त्रालयका उप-सचिव मारिएका र दुई जना उप-मन्त्री घाइते भएका उल्लेख गरेको छ ।

हुथी विद्रोहीलाई इरानले सहयोग गरिरहेको आरोप लाग्ने गरेको छ। हुथी विद्रोहीले यमनको अधिकांश पश्चिमी हिस्सामा नियन्त्रण गर्दै अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मन्सुर हादीलाई देश छाडी भाग्न बाध्य पारेका थिए।

त्यसपछि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले यमनमा सैनिक हस्तक्षेप गरेको थियो। अहिले यमनको हालत झन् खराब भएको छ। युद्धमा अहिलेसम्म १ लाख १० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ।

Categorized in अन्तर्राष्ट्रिय