STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यही महिनाभित्र काठमाडौंमा मेलम्ची ल्याउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७९ कार्तिक ४, शुक्रबार

काठमाडौं - मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने छ ।

आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उहाँले भन्नुभयो, “यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।”

वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ । उहाँले भन्नुभयो, “सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।” गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्‌यायो ।

तुलनात्मकरुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उनले बताए । त्यहाँका संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरे पनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए ।

गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइए पनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरुपमा भएपनि पहुँच सडक बनाइने छ । कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ ।

Categorized in राष्ट्रिय