STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

यातायात व्यवसायीले भेटे ओली र प्रचण्ड

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १, बिहिबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताउनुभएको छ । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन आज प्रधानमन्त्री निवास बालुवाटार गएको यातायात व्यवसायी र मजदूर सङ्गठनका नेताको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामथ्र्यअनुरुप समाधानमा अग्रसर रहने बताउनुभयो । “कोभिड–१९ को महामारीपछि सबै क्षेत्र प्रभावित हुन पुगे । जनताको दैनिक जीविका, विकास, अर्थतन्त्र र सेवा, सबै क्षेत्रमा यसको प्रभाव छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सबै क्षेत्रका समस्या सरकारले समाधान गरिदिएहुन्थ्यो भन्ने परिरहेको छ, यस्तो स्वाभाविक पनि हो । सार्वजनिक यातायात सञ्चालन गर्न केकस्तो सहयोग गर्न सकिन्छ, सरकारले पहल गर्नेछ ।” सो अवसरमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदूर सङ्गठनका प्रतिनिधिले प्रधानमन्त्री ओलीसँग आफ्ना समस्या प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला र उपमहासचिव वसन्त भण्डारी तथा सङ्गठनका अध्यक्ष भीमज्वाला राई, अखिल नेपाल यातायात मजदूर सङ्घका रामचन्द्र कार्की र नेपाल यातायात मजदूर सङ्घका धर्मराज भण्डारी सहभागी हुनुुहुन्थ्यो । नेकपा अध्यक्ष ‘प्रचण्ड’सँग पनि आग्रह यसैगरी यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् । भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष तथा पदाधिकारी र तीनवटै मजदुर ट्रेड युनियनका अध्यक्षको सहभागिता रहेको थियो । भेटपछि अध्यक्ष दाहालले यातायात क्षेत्रमा दीर्घकालीनरूपमा गर्नुपर्ने कामलाई नीति बनाएर गरिने तथा कोरोनाको सङ्क्रमबाट बन्द रहेका यातायातलाई सुरक्षितरूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाउनु भएको भेटमा सहभागी महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । भेटमा यातायात व्यवसायीले सरोकारवाला व्यक्तिलाई समेटेर यातायात प्राधिकरण स्थापना गर्नसमेत माग गरेका थिए । कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि बुधबार संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । 
Categorized in राजनीति