यान्त्रिकरणले आलुखेतीमा सरलता
Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार
आलुखेतीमा यान्त्रिकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उहाँको दुई रोपनी जमीनमा आलुको ड्याङ बनाउन पाँच जना कामदार लाग्नेमा यन्त्रले पौने दुई घण्टामा सकाइदिएको थियो । ड्याङ पार्नप्रति कामदार दैनिक ज्याला एक हजारका दरले पाँच हजार दिनुपर्नेमा यन्त्रको प्रयोगले एक हजार ४०० मा काम सकिएको नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यन्त्र प्रयोग गर्दा कामदारलाई खाजा ख्वाउनुपर्ने झन्झट र खर्च पनि जोगियो ।” उहाँले आउँदो वर्ष आलु गोड्ने यन्त्रको प्रयोगात्मक अभ्यास गरिने जानकारी दिनुभयो । कृषक नेपालले यन्त्रबाट आलुको ड्याङ बनाउँदा उत्पादन लागतमा समेत कमी हुने भएपछि हाल प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ ९आलु सुपरजोन०मार्फत ५० प्रतिशत अनुदानमा यन्त्र खरीद गर्नुभएको छ । उहाँले भन्नुभयो, “यन्त्रबाट र मानिसले कोदालीद्वारा आलुको ड्याङ पार्दा उत्पादनमा पनि समान नै देखियो, अब यन्त्रले नै ड्याङ पार्छौँ ।”
उहाँले यस वर्ष दुई रोपनीमा अभ्यासअनुरुप यन्त्रले ड्याङ बनाएको तर आउँदा वर्षमा आफ्नो छ रोपनीमै यन्त्र प्रयोग गर्ने सुनाउनुभयो । अर्का कृषक हरिप्रसाद लम्सालले पनि आउँदो वर्ष आलुखेती गर्न यन्त्रले नै ड्याङ बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गोविन्दको खेतमा आलुको ड्याङ बनाउँदा यन्त्र प्रयोगदेखि उत्पादनको समयसम्म बुझिरहेका छौँ, यन्त्रको प्रयोगले उत्पादन लागतमा निकै सरलता पायौँ, समयको पनि बचत देखियो ।”
उहाँले पनि परियोजनामार्फत ५० प्रतिशत अनुदानमा यन्त्र खरीद गर्ने बताउनुभयो । आलुको ड्याङ बनाउने यन्त्र खरीद गर्न रु एक लाख १५ हजार पर्दछ । यसमध्ये यन्त्र खरीद गर्न चाहने कृषकलाई परियोजनाले ५० प्रतिशत अनुदान दिँदै आएको छ । केही कृषकले सहकारीमार्फत यन्त्र खरीद गरी पालैपालो प्रयोग गर्दै आएका छन् । गत वर्ष नालाका सात र पनौतीका तीन जना कृषकले आलुको ड्याङ बनाउने यन्त्र ५० प्रतिशत अनुदानमा खरीद गरेको एकाइका वरिष्ठ कृषि अधिकृत दीपक पौड्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आलुखेती हुने जिल्लाका स्थानीय तहका कृषकलाई यन्त्रबारे जानकारी गराउँदै क्रमैसँग आलुखेतीमा यान्त्रिकरण गरिने योजना बनाएका छौँ ।” उहाँका अनुसार हाल धुलिखेल र पनौतीका सात कृषकले अनुदानमा यन्त्र खरीदका लागि फारम भरेका छन् । यन्त्र आयातका लागि प्रक्रिया अघि बढाइएको पौडेलले बताउनुभयो ।
Categorized in राष्ट्रिय


