यी हुन् नेपाल भित्र्याउन नपाइने १० मालवस्तु
Janjati Khabar – Janjati Khabar | २०७९ बैशाख १४, बुधबार
काठमाडौं - सरकारले १० प्रकारका सामानहरु नेपाल भित्र्याउन रोक लगाएको छ । आगामी अढाइ महिनाका लागि यस्तो रोक लगाइएको हो ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्र्याउन रोक लगाइएको छ । यद्यपि रोक लगाइएका सामग्रीहरु कूटनीतिक नियोगले भने ल्याउन पाउनेछन् ।
यसैगरी १३ वैशाखअघि बैंकिङ प्रक्रिया पुरा गरेकाहरुको हकमा भने बन्देज लागू नहुने मन्त्रालयले जनाएको छ । असार मसान्तसम्म निम्न वस्तु आयातमा रोक लागेको छ :
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा
३. चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन भने छुट छ)
४. हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट छ)
५. मोबाइल सेट
६. रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका)
७. जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन प्रयोजनका लागि ल्याउन पाइने)
८. २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौनाहरु
१०. खेल्ने तास
Categorized in बिजनेस

