STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

युवा वैज्ञानिक सम्मेलन शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २२, बुधबार

विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने भएकाले आर्थिक समृद्धि  हासिल गर्न विज्ञान तथा प्रविधिमा लगानी बढाउनुपर्ने खाँचो औँल्याइएको छ । 
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क क्षेत्रमा विज्ञान तथा प्रविधिमा भएका पछिल्लो खोज, अनुसन्धान तथा उपलब्धिको अनुभव आदानप्रदान गर्न आजदेखि यहाँ शुरु भएको युवा वैज्ञानिक सम्मेलनका सहभागीले प्रविधिमा आधारित विकासले मात्र दिगो विकास सम्भव हुने धारणासमेत व्यक्त गर्नुभयो । 
प्रदेश नं ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा विश्व वातावरण दिवसका अवसरमा आयोजित सो सम्मेलनमा सार्कमा आबद्ध देशसहित बेलायत, फिनल्याण्ड र जर्मनीका १०० भन्दा बढी युवा वैज्ञानिकको सहभागिता रहेको छ । 
 
 
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनको उद्घाटन गर्दै विज्ञान प्रविधिमा आधारित विकासले मात्र आर्थिक एवं सामाजिक रुपान्तरण हुने हुँदा यस क्षेत्रमा सरकारको लगानी बढाउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “युवा वर्गलाई नयाँ खोज अनुसन्धानमा आकर्षित गर्नुपर्छ ।  समाज परिवर्तन गर्ने शक्ति युवा वर्गमा रहेको छ । युवाका ज्ञान, सीप र सिर्जनालाई सरकारले कार्यान्वयन गरी प्रोत्साहन गर्नुपर्छ ।”
 
पूर्वप्रधानमन्त्री नेपालले पछिल्लो समय जल, जङ्गल र जमीनको दोहन कार्य बढ्दै जाँदा यसको असर वातावरण क्षेत्रमा परेकोमा चिन्ता व्यक्त गर्दै यसलाई रोक्न सबै क्षेत्र गम्भीर बन्नुपर्छ भन्नुभयो । 
   सम्मेलनबाट आएका निष्कर्ष र सुझावका आधारमा आगामी दिनमा सो प्रदेशलाई विज्ञान, प्रविधि, उद्योग, पर्यटन, वन, वातावरण, जयवायु परिवर्तनका क्षेत्रमा नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 
  प्रदेश नं ३ का  प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले वातावरण संरक्षणमा नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्ष महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेश नं ३ का उद्योगमन्त्री अरुणप्रसाद नेपालले आर्थिक समृद्धिलाई सहयोग पु¥याउन मन्त्रालयले सम्मेलन आयोजना गरेको र स्थानीय निकाय, प्रदेश तथा सङ्घलाई समेत विज्ञान तथा प्रविधिका क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने कामको मार्गनिर्देश सम्मेलनले गर्नेछ भन्नुभयो । 
 
सम्मेलनका संयोजक प्रा डा दीपक अर्यालले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा सार्थक कार्यान्वयन गर्न र वन, कृषि, पर्यटन, ऊर्जा जल तथा ऊर्जा क्षेत्रमा पछिल्लो समय विकसित उपलब्धिलाई कार्यपत्र तथा पोष्टर प्रदर्शनीका माध्यमबाट प्रस्तुत गरिने बताउनुभयो । 
 
प्रा डा रामेश्वर अधिकारी र प्रा डा विनोद दवाडीले विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई व्यावहारिक रुपमा उतार्न सम्मेलन सेतु बन्ने बताउनुभयो । नेपालका विभिन्न क्षेत्रमा कार्यरत ३५ युवा वैज्ञानिकले आफ्ना कार्यपत्र तथा आफूले गरिरहेका खोज तथा अनुसन्धानलाई प्रस्तुति दिनेछन् । 
Categorized in राष्ट्रिय