STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रसुवामा गुरूङ सङ्ग्रहालय

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र १२, शुक्रबार

रसुवा – प्रदेश सरकारको सहयोगमा सङ्ग्रहालय निर्माण भएपछि भोर्लेका गुरूङ समुदाय हर्षित भएको छ । वाग्मती प्रदेश सरकारको रू २० लाख सहयोगबाट नौकुण्ड गाउँपालिका वडा नं ५ ठूलोभोर्ले नजीक रहेको गुरूङ गाउँमा दुई कोठा भएका सङ्ग्रहालय निर्माण सम्पन्न भएपछि गुरूङ समुदायमा उमङ्ग छाएको वडाध्यक्ष घोण्टे ग्याम्दानले जानकारी दिनुभयो । उक्त सङ्ग्रहालय भवनबाट गुरूङ समुदायका भावी पुस्तालाई पुर्खाको रीतिरिवाज देखाउन र कलासंस्कृति संरक्षण गर्न सहज हुनाका साथै पर्यटकसमेत आगमन हुनेमा आफूहरू आशावादी भएको स्थानीय बासिन्दाले बताएका छन् । गुरूङ समुदायको हितका लागि सङ्ग्रहालय निर्माणमा रकम उपलब्ध गराई सङ्घीयताको मर्म र भावनानुरूप वाग्मती प्रदेश सरकारले गरेको सहयोग अविस्मरणीय भएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताउनुभयो । ठूलोभोर्ले नजीक कोलडाँडा क्षेत्रमा करीब ४४ घरपरिवार गुरूङ समुदायको बस्ती छ । आआफ्ना घरमा रहेका पुख्र्यौली सामग्री सङ्ग्रहालयमा राख्न सङ्कलन भइरहेको बताइएको छ । रसुवा जिल्लाको भोर्ले एवं ठूलोगाउँसमेतका क्षेत्रमा २५० भन्दा बढी गुरूङ समुदायको घरबस्ती रहेको बुद्धिजीवी बमबहादुर गुरूङले बताउनुभयो । यसैबीच तामाङ एवं अन्य जातिको मिश्रित बसोबास रहेको चित्ती गाउँमा वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगबाट एक सामुदायिक भवन निर्माण सम्पन्न गरिएको छ । स्थानीय बासिन्दाको माग एवं चाहनानुरूप रू १० लाखको लागतमा उक्त भवन निर्माण भएको जनाइएको छ ।
Categorized in राष्ट्रिय