STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राउटे भन्छन् ‘सरकार हामीलाई खाद्यान्न र पाल देऊ’

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १६, सोमबार

सामान्यतया, चैत वैशाखमा अत्यधिक गर्मी हुन्छ । तर यो वर्ष चैत वैशाखमै बर्खा लागेजस्तै भयो । त्यही कारण खोलाको बिचमै बसेका फिरन्ते जाती राउटे खोला बढ्ने डरले अली पर सरेका छन् । सुर्खेतको गुर्माकोट नगरपालिका–१३ बेतेनी खोला बिचमै बसेका राउटे समुदाय खोला तर्काउन लगाइएको तटबन्धदेखि करीब दुई समय मिटर पर बसाइँ सरेका छन् । प्रतिनिधिसभा सदस्य डा डिला सङ्ग्रौला त्यहाँ पुग्दा राउटे मुखिया सूर्यनारायण शाहीले समुदायको व्यथा सुनाउन थाल्नुभयो । ‘बर्खा लाग्न थाल्यो, बस्तीमा खाद्यान्न सङ्कटको पीडा त्यतिकै छ, सरकारले दिने महीनाको दुई हजार रुपैयाँले महीनाभरी प्राण धान्न मुस्किल हुन्छ”, उहाँले भन्नुभयो, “सरकार हामीलाई पाल र खाद्यान्न देऊ ।” ‘बर्खा लाग्नेबेला भइसक्यो, अब त हामीलाई पाल चाहिन्छ, उहाँले भन्नुभयो । मुखिया शाहीले प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलामार्फत सरकारसँग बर्खामा पाल र आवश्यक खाद्यान्न व्यवस्थापन गरिदिन माग गर्नुभयो । काठबाट कलात्मक सामग्री निर्माण गरेर त्यसको बिक्रीबाटै जीविकोपार्जन गर्दै आएका राउटे समुदायका अवस्था नियाल्दै प्रतिनीधिसभा सदस्य डा सङ्ग्रौलाले भन्नुभयो, “मुलुक नयाँ युगमा प्रवेश गरिसकेको छ, पुर्नजागरणको युगमा प्रवेश गरेको छ तर राउटे समुदायको अवस्था हेर्दा अहिले पनि ढुङ्गे युगमा छन् ।” लोपोन्मुख जातिको रुपमा रहेका राउटेलाई संरक्षण गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले उनीहरुलाई परिवर्तन गराउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘नयाँ बस्ती बसालेर शिक्षा, स्वास्थ्य, रोजगारको व्यवस्था गर्नुपर्छ, उहाँले भन्नुभयो, “यो समुदायलाई यही ढुङ्गे युगमा छोड्नु हुँदैन् ।” सांसद डा सङ्ग्रौलाले राउटे समुदायलाई कसरी रुपान्तरण गर्ने भन्ने विषयमा ठोस् कदम चाल्न सरकारलाई आग्र्रह गर्नुभयो । राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेर मात्र नहुने बताउँदै डा सङ्ग्रौलाले उनीहरुलार्ई सामाजिकीकरण गर्नका लागि शिक्षामा जोड दिनुपर्छ भन्नुभयो । राउटे समुदायमा सामाजिक घुलमिलनको अभियान चलाउनुपर्नेमा जोड दिदैं उहाँले यस समुदायका कला संस्कृतिलाई बचाइराख्नुपर्ने बताउनुभयो । राउटे बस्तीमा हाल ४६ घरपरिवार छन् । जम्मा एक सय ४६ जनाको सङ्ख्यामा रहेको राउटेले यसअघि जङ्गलमा बाँदर र गुनाको शिकार गरेर छाक टार्ने गरेका थिए । तर, पछिल्लो समय जङ्गली जनाबर नै पाउन छाडेपछि समस्या भएको उनीहरू बताउँछन् ।
Categorized in राष्ट्रिय