राजाेपाध्याय समाजमा संजय शर्मा निर्विरोध अध्यक्ष
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ आषाढ ४, मंगलबार
काठमाडौं उपत्यकाका देव ब्राह्मण राजोपाध्यायहरुको छाता संगठन राजोपाध्याय समाजको नव निर्वाचित कार्य समितिमा फेरी एक पटक संजय शर्मा राजोपाध्यायलाई नै अध्यक्ष छानेका छन् । उनी निर्विरोध छानिएका हुन् ।
गत शनिबार भक्तपुरमा सम्पन्न समाजको चौथो अधिवेशनबाट नृत्य कलाकार र नृत्य निर्देशक समेत रहेका राजोपाध्यायलाई दोश्रो पटक पनि अध्यक्ष चयन गरेको हो ।
नव निर्वाचित अध्यक्ष संजय शर्मा राजोपाध्यायले आधुनिक प्रविधिलाई पनि आत्मसाथ गर्दै समाजको धर्म, संस्कृति, परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा लाग्ने बताए ।
सोही अवसरमा अध्यक्ष राजोपाध्यायले व्यक्तिगत वा पारिवारिक भावना भन्दा समाजलाई प्राथमिकतामा राखेर सबै एकजुट हुँदै समाजको उत्थानमा लाग्न आग्रह समेत गरे । राजोपाध्यायले अर्को दुई वर्षकोे लागि समाजको नेतृत्व गर्नेछन् ।
सोही अधिवेशनबाट दुई उपाध्यक्षमा रचना शर्मा राजोपाध्याय र संचारकर्मी बिराजकाजी राजोपाध्याय लाई निर्विरोध छानेका छन् भने महासचिवमा बन्दना शर्मा राजोपाध्याय, सचिवमा बिजय शर्मा राजोपाध्याय चयन भए । कोषाध्यक्ष र सह कोषाध्यक्षमा उद्धव आचार्य राजोपाध्याय र चेतनादेवी शर्मा राजोपाध्याय छानिएका छन् ।
कार्य समितिको ६ सदस्यहरुमा बिरु सुवेदी राजोपाध्याय, किशोर शर्मा राजोपाध्याय, महेशबाबु शर्मा राजोपाध्याय, त्रिलोचन राजोपाध्याय, श्रीमणिराज शर्मा राजोपाध्याय र गिरिश शर्मा राजोपाध्याय रहेका छन् ।
निर्वाचन अघि अधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथीहरुका रुपमा रहेका प्रा.डा. पुरुषोत्तम लोचन श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ अगिब बनेपाली, यल नेवाः समाजका अध्यक्ष विनोद ताम्रकार, ज्योतिषाचार्य बीरेन्द्र प्रसाद कायस्थलगायतले नेवाः समाजमा सनातन धर्म, संस्कृतिको संरक्षण, सम्वद्र्धनमा राजोपाध्याय समाजको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिएका थिए ।
त्यस्तै समाजका निवर्तमान अध्यक्ष अमरराज शर्मा राजोपाध्याय र संस्थापक अध्यक्ष बदन ज्वालानन्द राजोपाध्याय, उपाध्यक्ष रचना शर्मा राजोपाध्यायले व्यक्तिगत भावना र विचारभन्दा समाजलाई प्राथमिकतामा राखेर समग्र समाजकै उत्थानमा अघि बढ्न सबैलाई आग्रह गरे ।
व्याकरणाचार्य गजानन्दर राजोपाध्याय धर्म, संस्कृतिलाई राम्ररी बुझ्नका साथै यसको संरक्षणमा लाग्न संस्कृत सिक्नुपर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रममा समाजले २०७८ श्रावणदेखि २०७९ असारसम्म उपत्यकाको तीनै शहर काठमाडौं, भक्तपुर र ललितपुरका शिवालयहरुमा आयोजना गरेको पञ्चाभिषेक रुद्री, २०७९ श्रावण महिनामा काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेवमा आयोजना गरेको अयुताहुती यज्ञ, २०७८ र २०७९ सालका एसईई उत्तीर्ण राजोपाध्याय विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
साथमा समाजले आयोजना गरेको गायन प्रतियोगीता ‘गायन प्रतिभाको खोजी’ का विजेताहरुलाई पुरस्कृत गरिएको थियो भने समाजको जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजना भएको तीन महिने संस्कृत प्रशिक्षणका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।
Categorized in उपत्यका

