राप्रपाको काठमाडौंमा प्रदर्शनमा झडप, ट्राफिक अस्तव्यस्त
Janjati Khabar – Janjati Khabar | २०८० चैत्र २७, मंगलबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौंमा प्रदर्शन गरेको छ। उसले संघीयता र गणतन्त्र विरोधी नारा लगाउँदै प्रदर्शन गरेको हो। व्यवस्था परिवर्तनका लागि भन्दै राप्रपाले भृकुटीमण्डपमा भेला भएर प्रदर्शन गरेको हो।
प्रदर्शनका कारण काठमाडौं र ललितपुरको सवारी आवागमन दिनभर प्रभावित भएको छ। घण्टौँ सवारी जाम भएको छ। देशभरबाट काठमाडौंमा जम्मा भएका राप्रपाका प्रदर्शनकारीले भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै सिंहदरबारतर्फ अघि बढ्ने प्रयास गर्दा प्रहरीले बल प्रयोग गर्यो।
निषेधित क्षेत्र तोडेर अघि बढ्ने क्रममा झडप हुँदा १८ प्रदर्शनकारी घाइते भएका छन्। त्यसैगरी ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरूलाई अभद्र व्यवहार कसूरको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
गृहमन्त्री लामिछानेको राजीनामा माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । आज (मंगलबार) राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीमाथि बल प्रयोग गरेको भन्दै उसले लामिछानेको राजीनमा मागेको हो ।
भद्रकाली क्षेत्रमा गरेको प्रदर्शनमा प्रहरीको लाठीचार्जबाट कार्यकताृ घाइते भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।
राप्रपाले सरकारलाई बुझाएको ४० बुँदे माग पूरा नभएको भन्दै मंगलबार प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पानीका फोहरा र लाठीचार्ज गर्दा केही घाइते भएका थिए ।
Categorized in राजनीति

