STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रामबहादुर थापा ’बादल’लाई एमालेको उपाध्यक्ष बनाउने तयारी

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण २६, बुधबार

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको विवाद उत्कर्षमा पुगेका बेला आफ्नो पक्षमा लागेका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई नेकपा (एमाले) मा सम्मानजनक स्थान दिने तयारी थालेका छन् ।

सो अनुसार गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ’बादल’ लाई एमालेको उपाध्यक्ष बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ।

तत्कालीन नेकपा एमालेमा पाँचजना उपाध्यक्ष थिए। एमालेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, विद्या भण्डारी, वामदेव गौतम र युवराज ज्ञवालीमध्ये अहिले भण्डारी राष्ट्रपति छन्।

नेकपा (एमाले)का उपमहासचिव बिष्णु पौडेलले संकटका बेला ओलीलाई साथ दिने माओवादी केन्द्रका अन्य नेताहरूलाई पनि उचित स्थान दिने बताए।

’उहाँहरूले आफ्नो सांसद पद नै धरापमा राखेर संकट परेका बेला नेपाली कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन योगदान दिनुभयो। सांसद पदसमेत त्याग गर्न तयार राष्ट्रिय सभा, प्रतिनिधि सभा, प्रदेश सभाका उहाँहरूलाई हामी उचित र सम्मानजनक स्थान दिन्छौं,’ पौडेलले भने।

उनले ओलीतिर लागेकाहरूलाई के पद दिने अहिले टुंगो नभएको र त्यो उनीहरूका लागि ’सरप्राइज’ हुने बताए।

पूर्वमाओवादी केन्द्रका सांसदहरू पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनको पक्षमा उभिएका थिए। उनीहरू सबैलाई ओलीले मन्त्री बनाएका छन्।

अहिले पूर्वमाओवादीका प्रभु साह, लेखराज भट्ट, गौरीशंकर चौधरी, मणि थापा र दावा लामा मन्त्री छ।

आफ्नो पक्षमा लागेकालाई एमालेमा स्थान दिनेबारे ओलीले नेता माधवकुमार नेपाल समूहसँग भने छलफल गरेका छैनन्।

बुधबारको संसद बैठकपछि नयाँ बानेश्वरमा संवाददाताहरूसँग कुरा गर्दै नेता नेपालले सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्वएमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्री ओलीले आफूहरूसँग अब के गर्ने भन्नेबारे कुराकानी नगरेको बताए।

यसअघि नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीतिर लागेकाहरूलाई अब के गर्ने भन्ने उनीहरूलाई छान्न दिने बताएका थिए।

Categorized in राजनीति