राष्ट्रकवि घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने
Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र ३, बुधबार
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको शवलाई अहिले केहीबेरपछि पशुपतिस्थित आर्यघाटमा अन्त्यष्टि गरिने भएको छ ।
नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारद प्रदान गरेर उनको अन्त्यष्टि गरिँदैछ ।
यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । बिहान घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका हुन् ।
घिमिरेलाई श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत पनि पुगेका थिए ।
उनको मंगलबार साँझ आफ्नै निवास लैनचौरमा निधन भएको छ ।
उनी लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका थिए । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार प्राप्त गरेका थिए । त्यस्तै २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा सिर्जना दिँदै आइरहेका छन् ।
घिमिरेका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।
Categorized in सिनेमा