STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रपतिको आज बङ्गलादेश राजकीय भ्रमण : तीन सम्झौतामा हस्ताक्षर हुँदै

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ९, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश जाने भएकी छन् । राष्ट्रपति भण्डारीले चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमण गर्न लागेकी हुन् ।

बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको  मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान त्यसतर्फ जान लागेकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट राष्ट्रपति भण्डारी ढाका प्रस्थान गर्नेछिन् ।

सो विमान स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । त्यहाँ पुग्दा उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले स्वागत गर्नेछन् ।

राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ले सम्मान गरिनेछ ।

राष्ट्रपति भण्डारीले उनका समकक्षी हमिदसँग दुईपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिनालगायतले भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमण दलमा को-को ?

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा. हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा. भेषराज अधिकारी रहनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका कर्मचारीसमेत गरी ५४ जना भ्रमण दलमा छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।

यी विषयमा हुँदैछन् सम्झौता

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवर्द्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर-सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेभएको छ ।

त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

Categorized in राजनीति