STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय दोहोरी प्रतियोगितामा नवलपरासी उत्कृष्ट

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २, शनिबार

मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ । नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवलपरासीकी लक्ष्मी बस्नेतको समूह प्रथम भएको हो । प्रतियोगितामा देउराली रोधी घर बुटवलका विक्रमबाबु विश्वकर्माको समूह द्वितीय, गोधुली रोधी घर बुटवलका राजकुमार न्यौपानेको समूह तृतीय तथा लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीकी लालमाया थापाको समूहले सान्त्वना स्थान हासिल गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको सहकार्यमा बर्दघाटस्थित दौंतरी एफएमले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजना गरेको उक्त प्रतियोगिताका विजयी समूहलाई क्रमशः नगद रु २५ हजार, १५ हजार, दश हजार र पाँच हजारले पुरस्कृत गरिएको एफएमका प्रबन्ध निर्देशक नारायण भण्डारीले बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले नेपालीको पहिचानको रुपमा रहेको लोक संस्कृतिको जर्गेना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो । सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले संस्कृतिको संरक्षणका लागि यस किसिमको प्रतियोगिता कोशेढुङ्गा सावित हुने भन्दै निरन्तरतामा जोड दिनुभयो । सो अवसरमा चर्चित लोक कलाकार शान्ति श्री परियार, नारायण लेकाली, भरत क्षेत्री, भूपराज न्यौपानेलगायतले आफ्ना गीतसङ्गीतमार्फत दर्शकलाई मनोरञ्जन गराउनुभएको थियो ।
Categorized in सिनेमा