STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रु ३० करोडको लागतमा पशुवधशाला निर्माण गरिँदै

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

बाँकेको कोहलपुरमा रु ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ । जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको रु एक करोड ९७ लाख र प्रदेश सरकारको रु एक करोड ९७ लाख गरेर नाली निर्माण तटबन्धन गर्न काम शुरु गर्ने सहमति भएको छ । पशुबधशालाको संरचना निर्माणमा रु २० करोड लागतको अनुमान गरिएको छ । नगरपालिकाको आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले हेफर इन्टरनेशनलले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले निबुवामा निर्माण हुने पशुबधशालाको गुरुयोजना तयार भएकाले दुई बिघा जग्गामा पूर्वाधारको काम शुरु भएको जानकारी दिनुभयो । कोलकताको जिकेसन एण्ड एशोसिएट्सले डिपिआरको काम गरिरहेको छ । बधशाला निर्माणमा सहजीकरणको भूमिका निर्वाह गरिरहेको हेफर इन्टरनेशनलका कार्यक्रम प्रबन्धक प्रकाश केसीले पशुबधशाला निर्माणका लागि खजुरा गाउँपालिकाबाट रु २० लाख, नेपालगञ्ज उपमहानगरपालिकाबाट रु १० लाख, बैजनाथ गाउँपालिकाबाट रु १० लाख र राप्ती सोनारी गाउँपालिकाले रु पाँच लाख लगानी गर्ने सुनिश्चित भएको बताउनुभयो । पशुबधशालाको निर्माणमा सामाजिक उद्यमी जिल्ला सङ्घ, बाँकेमा संलग्न १५ सामाजिक उद्यमी महिला सहकारी संस्थाका १० हजार महिलाले रु एक करोड ३० लाख लगानी गर्ने भेटनरी अस्पतालका प्रमुख डा हरिबहादुर कँुवरले बताउनुभयो । बाँकेका सबै स्थानीय तह, सहकारी र प्रदेश नं ५ सरकार पशुबधशाला निर्माणमा सक्रियताका साथ लागिपरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा पशुबधशाला निर्माणका लागि प्रदेश सरकारले रु सात करोड बजेटको व्यवस्था गरेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले जानकारी दिनुभयो । प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा बाँकेमा तीन अत्याधुनिक मासुबजार सञ्चालन भएका छन् । कृषि मन्त्रालयले यम्मी फ्रोजन नेपालगञ्जका सञ्चालक दीपेन्द्रराज श्रेष्ठ, एमके पिग फार्म कोहलपुरका माधव रेग्मी र जयपृथ्वी कृषि सहकारी संस्था नेपालगञ्जका अध्यक्ष लोकेन्द्रबहादुर चन्दसँगको साझेदारीमा अत्याधुनिक मासुबजार सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रले रु ५० लाखको लगानी सुनिश्चित गरेपछि त्यसका आधारमा प्रदेश सरकारले रु ५० लाख अनुदान दिएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले बधशाला निर्माणसँगै जिल्लाको उत्पादन जिल्लामा खपत हुने र जनतालाई स्वस्थ मासु उपलब्ध गराउनुका साथै रोजगारी सिर्जनामा पशुबधशालाले भूमिका खेल्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय