STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

रोल्पाको रुन्टीगढीमा नेपाली कांग्रेस र कालीकोटको तिलागुफामा नेमकिपाका उम्मेदवार निर्वाचित

Janjati Khabar – Janjati Khabar | २०८१ मङ्सिर १६, आइतबार

काठमाडौं- स्थानीय तह उपनिर्वाचन अन्तरगत आइतबार सम्पन्न मतदानको मतगणना सुरु भएको छ । योसँगै अन्तिम मतपरिणाम आउनेक्रम पनि सुरु भएको छ। 

रोल्पाको रुन्टीगढी गाउँपालिका-४ को अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार ५७ वर्षीय भुपमणि पुनमगर विजयी भएका छन्। ६ सय ४३ मत लिएर पुनमगर विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार बेगम पुनले ५३५ मत लिए। १ सय ८ मतान्तर सहित कांग्रेसबाट उमेदवार बनेका भुपमणी विजयी भएको नेपाली कांग्रेसका जिल्ला सचिव शेरबहादुर थापाले जानकारी दिए। माओवादी केन्द्रका उमेदवारले ७०, राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले १०, मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवारले ७ र राप्रपाले ७ मत पाएका छन्।

१ हजार ९ सय मतदाता रहेको ४ नम्बर वडामा १ हजार २ सय ९७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। खसेको मत मध्ये २१ मत बदर भयो। विजयी पुनमगरले २०४६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति गर्दै आएका थिए। 

पूर्व शिक्षक समेत रहेका उनी २०७० सालको निर्वाचनका बेला कांग्रेसबाट समानुपातिक संविधान सभा सदस्यमा सिफारिस समेत भएका थिए। २०७४ तिर एमाले प्रवेश गरेका पुनमगर कांग्रेसमा फर्किएपछि पार्टीले उनैलाई उमेदवार बनाएपछि वडा अध्यक्षमा विजयी भएका हुन्।

२०७९ को चुनावमा पनि यस वडाको वडाध्यक्षमा कांग्रेसकै उमेदवार टंक पुन विजयी भएका थिए। त्यसबेला कांग्रेसले ४ सय ८८ र एमालेका उमेदवारले ४ सय ८० मत ल्याएका थिए। उतिबेला ८ मतको मतान्तर थियो। वडा अध्यक्ष टंकको स्क्रब टाईफसका कारण मृत्यु भएको थियो।

कालीकोटको तिलागुफामा नेमकिपा निर्वाचित

कालीकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्गराज शाही निर्वाचित भएका छन्।

उनले १४३ मत ल्याएर विजयी हासिल गरेका हुन्।

महोत्तरीको रामगोपालपुर-२ मा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयलगत्तै ६ बजेर ४५ मिनेटमा मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए।

कुल मतमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिए। कार्यालयका अनुसार करिब ३ घण्टामा मतगणना सम्पन्न हुनेछ । एक वडाध्यक्षका लागि उक्त वडामा २० जना उमेदवार छन् ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका ५ को वडाध्यक्ष पदका लागि आज भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ। निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थलबाट सबै मतपेटिका समयमै ल्याएर मतगणना सुरु गरेको जनाएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय घापागारमा रहेको एक मतदानस्थलमा दुई केन्द्र बनाएर मतदान भएको थियो।

गोरखा नगरपालिका वडा नम्बर–५, जाजरकोटको कुशे गाउँपालिका ७ सहितका विभिन्न स्थानमा मतगणना सुरु भएको छ। अन्य स्थानमा पनि मतगणनाका लागि तयारी भइरहेको जनाइएको छ। निर्वाचन आयोगले यसअघि मतगणना स्थलमा मतपेटिका जम्मा हुनेबित्तिकै मतगणना सुरु गर्न निर्देशन दिएको थियो।

Categorized in राजनीति