लकडाउनमा वनस्थलीबाट कार हरायो
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २, मंगलबार
काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लागु गरिएको लकडाउनको समय चोरीका घटनाहरु पनि बाहिरिएका छन् । काठमाडौंको वनस्थली क्षेत्रबाट गत चैत २६ गते साँझ ६ः३० बजेतिर पार्किङमा राखिएको एउटा निजी कार हराएको जानकारीमा आएको छ ।
बा६च नम्बरको सिल्भर रङको किया कम्पनीको कार हराएकोले कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा कारधनीको नम्बर ९८१८६९९२४० मा सम्पर्क गर्न पनि भनिएको छ ।
घरकै कम्पाउण्डबाट हराएकोले उक्त कार चोरी भएको आशंका गरिएको छ । यस घटनाले त्यहाँ चोरीका घटना अझै बढ्न सक्ने भएकाले स्थानीय चिन्तित बनेका छन् । यस्ता घटना पुनः दोहोरिन नदिन सुरक्षा व्यवस्था कडा गर्नुपर्ने स्थानीयको भनाइ छ ।
लकडाउनको समय सरकारले आवतजावतको लागि पासको व्यवस्था गरे पनि चोरहरुले नक्कली पास बनाएर चोरी गरिरहेका आशंका स्थानीयले गरेका छन् । सवारी साधनमात्र नभएर घरमा समेत पसेर चोरी गर्न सक्ने भएकाले सुरक्षा निकायले सडकमा चेकजाँच थप कडा गर्नुपर्ने रहेको देखिन्छ । कडा चेकजाँच भए चोरीका सामान, सवारी लान नसकिने विचार उनीहरुको छ ।
लकडाउनको समय एक जिल्लाबाट अर्को जिल्लामा आवतजावतमा रोक लगाएकै समय यसरी सवारी साधन हराएकोले प्रत्येक नाकामा गम्भीर चेकजाँच गर्न पनि स्थानीयले सुरक्षा निकायसँग अनुरोध गरेका छन् ।
लकडाउनकै समयमा विभिन्न स्थानबाट मोटरसाइकलहरुको चोरी पनि बढेको जानकारीमा आएको छ । वैशाख १ गते फर्पिङ क्षेत्रमा चोरीको पल्सर मोटरसाइकल प्रहरीले समातेको थियो ।
Categorized in अपराध-दुर्घटना