relans
ni new 83
nib 2082 5

लक्षित समूहले खोप नपाएको गुनासो

Janjati Khabar | २०७८ जेठ २८, शुक्रबार


तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ । बैसठ्ठी देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयवासीले गुनासो गरेका हुन् ।

स्थानीयवासी रमेश अधिकारीले आफ्ना बाबुलाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताउनुभयो । “बुबा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए”, उहाँले भन्नुभयो, “लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने ?” उहाँले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाउनुभयो ।

स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुङ्गानाले स्वास्थ्यचौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिनुभयो । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

”चौँसठ्ठी वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौँ, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो”, उहाँले भन्नुभयो, “स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।”

उहाँका अनुसार १२ बजेपछि केही व्यक्ति आएर खोप लगाउनुपर्छ भन्दै दुव्र्यवहारसमेत भएको छ । “ममाथि हातपात पनि भएको छ, झगडा गर्न आए”, उहाँले भन्नुभयो, “कोल्डचेन व्यवस्थान नहुँदा दिनभर राख्दा खोप बिग्रन सक्थ्यो, यदि त्यस्तो भएको भए फेरि मैमाथि गाल पथ्र्यो ।” वडाध्यक्षकै मौखिक निर्देशनमा लक्षित समूहबाहेक क्याम्पस प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सदस्यलाई भने खोप लगाएको उहाँले स्वीकार गर्नुभयो ।

Categorized in राष्ट्रिय
ppp 2