लण्डनमा नेपाली फिल्म महोत्सव हुने
Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १५, आइतबार
लण्डन अवस्थित नेपालीहरुको संस्था थर्ड आईको आयोजनामा बेलायतको राजधानी लण्डनमा पाँच दिने ‘फिल्म महोत्सव’ आयोजना हुने भएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो महोत्सवको नेपाल व्यवस्थापनको जिम्मा लिएको संगीक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले पाँच दिनभित्र दस वटा चलचित्र प्रदर्शन गरिने जानकारी दिए ।
थर्ड आईका प्रमुख विकास देवकोटाको सक्रियतामा आयोजना हुन लागेको महोत्सवमा नेपालबाट करिब तीन दर्जन चलचित्रकर्मी, पत्रकार, विज्ञापनदाता तथा विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहने बताइएको छ । मनोज केसीका अनुसार, महोत्सवको अन्तिम दिन चलचित्रकर्मीहरुलाई सम्मानित समेत गरिनेछ ।
महोत्सव भदौको अन्त्य तिर हुने आयोजकले जानकारी दिएको छ । यसका लागि तयारी समेत सुरु भैसकेको बताइएको छ ।
आयोजकले अब महोत्सवमा प्रदर्शन गरिने चलचित्रहरुको छनोट प्रक्रिया सुरु गरिएको बताएको छ । युट्युबमा नआएका, विभिन्न टेलिभिजन च्यानलबाट प्रशारण नभएका तर हलमा मात्र रिलिज भएका चलचित्रहरु मध्येबाट १० वटा चलचित्रलाई महोत्सवमा सहभागी गराइनेछ ।
कार्यक्रमको घोषणा सभा वरिष्ठ कलाकार निर शाह, नायिका करिश्मा मानन्धर, निरुता सिंह, नायक सरोज खनाल,गायक यम बराल र राष्ट्रिय संगीतकर्मि संघका अध्यक्ष विक्रम जंग शाह लगायतले फिल्म महोत्सव बारे का विविध पक्षबारे कुरा राखेका थिए ।
Categorized in सिनेमा

