लन्डन विश्वविद्यालयमा नेपालभाषाको पुस्तक लोकार्पण
Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ७, बुधबार
काठमाडौं– लन्डन विश्वविद्यालयमा प्रथम युरोपव्यापी नेवार संस्कृति र सम्पदा सम्मेलनको क्रममा नेपालभाषाको पुस्तक लोकार्पण भएको छ ।
डा. बालगोपाल श्रेष्ठको ‘झीगु सको देय् : नेवा समाजया संस्कार, संस्कृति व धर्मकर्मया मानवशास्त्र’ पुस्तक सो सम्मेलनमा लोकार्पण भएको थियो ।
अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डाभिड गेल्नर र लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हटलगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।
उक्त पुस्तक यसअघि अंग्रेजी भाषामा प्रकाशित भइसकेको थियो । अंग्रेजी भाषाको उक्त पुस्तकलाई आफूले नै विमोचन गरेको सम्झँदै प्रा. गेल्नरले नेपालभाषामा पुस्तक प्रकाशित हुँदा पनि विमोचन गर्न पाएकोमा खुशी व्यक्त गरे । पुस्तक नेपालभाषामा अनुदित भएपछि नेवार पाठकलाई सहज भएको उनले बताए ।
प्रा. माइकल हटले नेपालभाषामा अनुदित पुस्तकको आफ्नै महत्व रहेको जनाउँदै लेखक र अनुवादक दुवैलाई शुभकामना दिए ।
पासापुचः गुथि युके र लण्डन विश्वविद्यालयको दक्षिण एसिया इन्स्टिच्युटको संयुक्त आयोजनामा गत फागुन ३ गते सो सम्मेलन भएको थियो ।
कार्यक्रममा पासा पुचः गुथि युकेका अध्यक्ष संयुक्त श्रेष्ठले पुस्तकको परिचय दिएका हुन् ।
शंखरापुर नगरपालिकाको आर्थिक सहयोगमा भाषा साहित्य मुँज्या खलः, सक्वबाट प्रकाशित पुस्तक ‘द सेक्रेड टाउन अफ साँखु’ लाई सिल्भिया राजोपाध्यायले नेपालभाषामा अनुवाद गरेका हुन् भने विमल ताम्राकारले सम्पादन गरेका हुन् ।
सक्व (साँखु)को विस्तृत इतिहाससँगै मानवशास्त्रीय अध्ययन समावेश रहेको पुस्तकमा नेवार समाज, संस्कृति, संस्कार, गुठी, जात्रा, चाडपर्वबारे विश्लेषण छ ।
Categorized in राष्ट्रिय