STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लमही–घोराही १३२ केभी लाइन सञ्चालन

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २६, बिहिबार

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन सञ्चालन भएको छ । लाइन सञ्चालन भएसँगै ३३ केभी लाइन घोराही वितरण केन्द्रबाट वितरण शुरु भएको विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीका प्रमुख मधुसुदन यादवले बताउनुभयो । “घोराहीको झिग्नीमा शुरु भएको १३२ केभी प्रसारण लाइनअन्तर्गत घोराहीबाट ३२ केभी लाइन शुरु भएको छ”, उहाँले भन्नुभयो, “हामीले यही वैशाख ३ गतेदेखि चार्ज गर्न शुरु गरेर बुधबारदेखि मात्रै लोड लिन शुरु गरेका हौँ ।” उक्त प्रसारण लाइन शुरु भएसँगै विद्युत्मा यसअघि देखिएको ‘लो’ भोल्टेजको समस्या सुधार भएको भएको उहाँको भनाइ छ । यसअघि २३ किलोमिटर दूरी रहेको लमहीबाट विद्युत् ल्याएको भए पनि लमही–घोराहीअन्तर्गत झिग्नीको लाइन शुरु भएसँगै आठ किलोमिटर दूरीबाटै विद्युत् ल्याएर वितरण गर्दा यो समस्या हटेको उहाँको भनाइ थियो । “यसअघि लमहीबाट २३ किलोमिटर टाढाबाट ल्याउन बीचमै चुहावट हुने समस्या पनि थियो”, उहाँले भन्नुभयो, “तर अहिले नजिकै छ, आठ किलोमिटर मात्रै छ, त्यसले गर्दा पनि सहज थियो ।” यसअघि लमहीबाट ३३ केभी लाइन नै ल्याइएको थियो । लमहीबाट ल्याउँदा बाटोमै बिग्रिँदा पनि जङ्गलबीचमा लाइन जडान भएकाले समस्या पहिचान गर्न पनि ढिलाइ हुने गरेको उहाँले बताउनुभयो । “लमहीबाट जङ्गलबीचबाट ल्याइएको थियो, त्यसले गर्दा बीचमा बिग्रिँदा पनि कहाँनेर बिग्रियो भन्ने समस्या हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले दूरी नजिक भएकाले छिट्टै समस्या पहिचान गरेर समाधान गर्न सकिन्छ ।” झिग्नीको ३२ केभी लाइन घोराहीसँगै तुलसीपुर, सल्यान, रुकुम, रोल्पामा पनि वितरण हुने गरेकाले ओभरलोड जारी रहेको भन्दै पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदासम्म समस्या जारी रहने उहाँको भनाइ छ । “अहिले भोल्टेजमा केही सुधार त आएको छ, तर ओभरलोडको समस्या कायम छ”, उहाँले भन्नुभयो, “पश्चिम हापुरेको लाइन तुलसीपुर नआउँदा केही समस्या भएको हो ।” अहिले दाङका बढी विद्युत् खपत हुने समयमा कम्तीमा पनि २५ एमपीए लाइन खपत हुने गरेको उहाँको भनाइ छ । ३८ टावर निर्माण पूरा हुनुका साथै तार तानेपछि निर्माणको काम पूरा भएको हो । लमहीबाट १३ किलोमिटर तार तानेर झिग्नीमा प्रसारण लाइन राखिएको हो । दाङमा देखिएको व्याप्त विद्युत् अनियमितालाई रोक्न विसं २०७० देखि लाइन निर्माण शुरु गरिएको थियो । ३७ महीनासम्ममा पूरा गर्ने सहमति भए पनि केही ढिला गरी निर्माणकार्य पूरा भएको हो ।
Categorized in राष्ट्रिय