STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ललितपुरको बालकुमारी मन्दिरकाे पुनःनिर्माण अघि बढ्यो

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र २३, बुधबार

ललितपुर - ललितपुर महानगरपालिका–८ मा अवस्थित बालकुमारी मन्दिर पुनःनिर्माण अघि बढेको छ । विसं २०७२ को भूकम्पले सो मन्दिरको भित्ता चिराचिरा परेकाले फलामको टेका दिएर पालसमेत हालेर राखिएको थियो ।

कुमारीलाई नजिकै रहेको सत्तलमा सारी मन्दिरको गजुर निकालेर माथिबाट भत्काउन थालिएको बालकुमारी मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष खड्गलाल महर्जनले बताए । उनले भने, “महानगरपालिकाले विनियोजन गरेको रु ५० लाख र जनश्रमदानबाट उठेको रु छ लाख गरी कुल रु ५६ लाखले हाललाई काम अघि बढाएका छाँै ।” मन्दिर पुनःनिर्माणमा कुल रु चार करोड ४१ हजार रकम खर्च हुने अनुमान गरिएकाले दाताबाट रकम सङ्कलन गरी सम्पन्न गर्ने भएको महर्जनले जानकारी गराए।

सो मन्दिर ठेक्कामा निर्माण गर्न दिँदा गुणस्तर कमी हुने भएसँगै समितिमार्फत अघि बढेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उनले भने, “पाटनमा शक्तिपीठका रूपमा पूजिने अष्टमातृकाका मन्दिरमध्ये यो दशैँका बेला सबैभन्दा बढी पूजापाठ हुने र प्रत्येक वर्षको घोडेजात्रासमेत यही मन्दिर भएर सुरुआत गरिन्छ ।” प्यागोडाअर्थात् छाने शैलीमा निर्माण भएको उक्त तीन तले मन्दिरका कयौँ पुराना साम्रगी पुनः प्रयोग गर्न मिल्ने हुँदा १८ महिनाभित्र काम सम्पन्न गर्न समय तोकिएको महर्जनले जानकारी गराउनुभयो ।

नेपाल संवत ७४२ मा सिद्धिनरसिंह मल्लको पालामा सो मन्दिर मात्र एक तले पुनःनिर्माण भएको थियो र पछि फेरि योगनरेन्द्र मल्लको पाला नेसं ८१७ मा दुई तला थपी गरी तीन तला बनाइएको शिलालेखमा उल्लेख छ । पाटनका कृष्ण, तलेजु, भीमसेन, कुम्भेश्वर, बङगलामुखी, महालक्ष्मी स्थानको महालक्ष्मी, बटुक भैरव, रातो मच्छिन्द्रनाथ, मीननाथ, पूर्णचण्डी अर्थात सिद्धिलक्ष्मी र महाबौद्धमध्ये बालकुमारी मन्दिर पनि एक प्रमुख मठमन्दिर भित्र पर्दछ ।

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरैमन्दिरको नगरीका रूपमा पाटन नगर नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन शहरमध्ये सबैभन्दा पुरानो शहर पनि हो । विसं २०६२ मङ्सिर २७ गते सो मन्दिरको टायल झिकी तामाको छाना छाइएको वडाध्यक्ष हेम महर्जनले जानकारी गराए ।रासस

Categorized in उपत्यका