ललितपुरमा स्वंगः चिभाः मिसा पुचःद्वारा उद्घोषण तालिम
Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष २०, शनिबार
महिलाहरुको व्यक्तित्व विकासको उद्देश्य लिएर ललितपुर ख्वाय्बहिलस्थित स्वंगः चिभाः मिसा पुच नामक महिला संस्थाको आयोजनामा १२ दिनको ब्यक्तित्व विकास र उद्घोषण तालिम सम्पन्न भएको छ । ललितपुर महानगरपालिका २० वडाको सहयोगमा सम्पन्न भएको यस तालिममा महिला समूह र बाल समूहका गरी २५ जनाको सहभागिता रहेको थियो भने तालिम सुरजबीर बज्राचार्यले दिनुभएको हो ।
पुचःकी अध्यक्ष शान्ति महर्जनको सभापतित्वमा सम्पन्न भएको सो तालिमको समापन समारोहका प्रमुख आतिथि ललितपुर महानगरपालिका वडा २० का महिला सदस्य गीता महर्जन रहनु भएको थियो । उहाँले आफ्नो मन्तब्य राख्ने क्रममा ब्यक्तित्व विकासको तालिम र अभ्यास निरन्तर हुनुपर्ने तथा यसको एडभान्स तालिमका लागि वडाले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँको वडाले उपलब्ध गराउने श्रोतको उपयोग गरी विभिन्न कार्यक्रम गर्न वडाका संघसंस्थाको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रमका अतिथि स्वंगः चीभाः युथ क्लब तथा स्तम्भ सहकारी संस्थाका अध्यक्ष धनबहादुर महर्जनले प्रशिक्षार्थीहरुको सशक्तिकरणबाट आफु प्रभावित भएको उल्लेख गर्नुभयो । प्रशिक्षक बज्राचार्यले समापन कार्यक्रम नै वास्तवमा सिकेका गुणको उपयोगको अारम्भ भएको उल्लेख गर्नुहुँदै आवश्यकता पर्दा सँधै सबै प्रशिक्षार्थीको साथमा आफु रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
पुचःकी सह–कोषाध्यक्ष लक्ष्मी शाक्यले स्वागत मन्तब्य राख्नु भएको यस कार्यक्रममा धन्यवाद ज्ञापन पुचःकी निवर्तमान अध्यक्ष विनिता शाक्यले राख्नु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि महर्जनले तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने आयोजक पुचःले प्रशिक्षक सुरजबीर बज्राचार्यलाई सम्मान–पत्र प्रदान गर्नुका साथै प्रमूख अतिथि र विशेष अतिथीहरुमा मायाको चिनो प्रदान गरिएको थियो । सो समारोह मा प्रशिक्षार्थीहरु आस्था शाक्य, मन्दिरा शाक्य, मन्दिरा महर्जन, आयोग्या शाक्यले अाफ्नो तालिम को अनुभव सुनाउनु भयो भने आभा राजोपाध्याय श्रेशा श्रेष्ठले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।
Categorized in साहित्य-कला

