STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लाम्पाटा–दरवाङ सडक स्तरोन्नति शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

जिल्लाका मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकको लाम्पाटा–दरवाङ खण्ड स्तरोन्नतिको काम शुरु गरिएको छ । कालोपत्र गर्ने लक्ष्यसहित पूर्वाधार विकास कार्यालयले सडक स्तरोन्नति आयोजना सञ्चालन गरेको हो । बिरुवा–क्याराभन जेभीले सडक फराकिलो बनाउने र पर्खाल लगाउने काम शुरु गरेको छ । मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि दरवाङको म्याग्दीखोला पुलसम्म १६ किलोमिटर सडक कालोपत्र गर्न विसं गत जेठ ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का सम्झौता गरेको कार्यालयका सिनियर डिभिजनल इञ्जिनीयर ओमराज ढुङ्गानाले बताउनुभयो । गण्डकी प्रदेश सरकारले सबै निर्वाचन क्षेत्रमा ‘एक निर्वाचन क्षेत्र र एक सडक आयोजना’ सञ्चालन गरेको छ । प्रदेशको क्षेत्र ९ख० बाट निर्वाचित सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिशमा लाम्पाटादेखि दरवाङ जोड्ने सडक कालोपत्र हुनलागेको हो । रघुगङ्गाको गलेश्वरदेखि पिप्ले–भगवती हुँदै बेग जोड्ने आठ किलोमिटर सडक स्तरोन्नतिको काम पनि शुरु गरिएको छ । सो सडकको एपेक्स–खड्का कृष्ण जेभी काठमाडौँले भ्याटसहित रु १८ करोड ४१ लाख ८३८ मा ठेक्का सम्झौता गरेको छ । भगवतीको मैदान नजिकै सडक फराकिलो बनाएर पर्खाल लगाउने काम शुरु गरेको छ । उक्त सडकबाट पिप्ले, भगवती, बेगका बासिन्दा लाभान्वित हुने जनाइएको छ । दशकअघि ट्र्याक खुलेको सो सडक बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा आवतजावतका लागि स्थानीयलाई सास्ती हुने गरेको थियो । दुवै आयोजनाको ठेक्का अवधि २४ महीनाको छ । कच्ची, उकालो, ग्रेड र मोड नमिलेको सडक सुधार गरेर आवतजावत सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । पूर्वाधार विकास कार्यालयमार्फत हाल बेनीदेखि बाबियाचौरसम्मको १३ किलोमिटर सडक कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । यो योजना समानान्तर–लामा जेभीले रु ४५ करोडमा दुई वर्षअघि ठेक्का लिएको थियो ।
Categorized in राष्ट्रिय