STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लिने हो खुकुरीसँग तस्वीर

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

यहाँ जारी चैत्राष्टमी मेलास्थल छिर्नासाथ दायाँपट्टी घरेलु हातहतियार र औजारको बिक्रीकक्ष भेटिन्छ । स्थानीय सीपबाट बनेका हँसिया, बञ्चरोदेखि ३० किलोसम्मको खुकरी बिक्रीमा राखिएको छ । मेला भर्न जाने जोकोही एकपटक सो बिक्रीकक्षमा पुग्छन् । देख्दै अजङ्गका खुकुरीले अवलोकनकर्तालाई लोभ्याउने गर्छ । एउटा ३० किलो र अर्को २२ किलो तौलको खुकुरी बिक्रीमा छ । पहिलोको मूल्य रु एक लाख ११ हजार १११ र अर्कोको रु ९९ हजार ९९९ तोकिएको छ । ठूला खुकुरी किन्ने भन्दा हेर्ने धेरै भएपछि कालिगड मनबहादुर विकले नयाँ जुक्ति निकाल्नुभएको छ । अवलोकनकर्तालाई खुकुरीसँग तस्वीर खिच्न लगाउने र पैसा लिने । तस्वीर लिएवापत एक जनाबाट रु २० लिने गरेको विकले बताउनुभयो । बिक्रीकक्षअघि कसैले खुकुरी समातेर त कसैले उचालेर तस्वीर लिइरहेका हुन्छन् । आफूभन्दा अग्ला खुकुरीसँग रुचिपूर्वक तस्वीर लिने र खुकुरीबारे सोधखोज गर्नेको भीडनै लाग्ने गरेको छ । कालिगड विकलाई खुकुरीबारे भन्दैमा फुर्सद छैन । ठूला खुकुरीले आकर्षित गरेपछि बिक्रीकक्षबाट साना खकुरी र अन्य औजारको बिक्री बढ्ने गरेको उहाँको अनुभव छ । ठाउँठाउँमा हुने मेला, महोत्सवमा उहाँले यसरी नै बिक्रीकक्ष राख्ने गर्नुभएको छ । बागलुङको बुर्तिबाङ बजारमा ‘बुर्तिबाङ आरन व्यवसाय सेवा’ सञ्चालन गर्दै आउनुभएका विक १३ वर्षको उमेरदेखि कालिगडी पेशामा हुनुहुन्छ । “मेला, महोत्सव हुँदा ‘स्टल’ राख्छौँ”, उहाँले भन्नुभयो, “एउटा महोत्सवमा जाँदा रु एक लाख जति कमाइ हुन्छ ।” यहाँको मेलामा भने घरेलु तथा साना उद्योग विकास समितिले निःशुल्क बिक्री कक्ष राख्ने व्यवस्था मिलाएको कालिगड विकले बताउनुभयो । घरेलु सीप र प्रविधिबाट बनेका सामग्री भएकाले उहाँले राखेको बिक्रीकक्ष मेलाको आकर्षण बनेको हो । ठूला र महङ्गा खुकुरी विशेष माग आउँदा मात्र बनाएर बेच्ने गरेको कालिगड विकले बताउनुभयो । फलामलाई आरनमा गालेर, घनले पिटेर खुकुरीको रुप दिन कडा मेहेनत लागेको उहाँको अनुभव छ । ३० किलो तौलको खुकुरी आठ दिनमा तयार भएको थियो । विकलाई व्यवसायमा श्रीमती सरीताको पनि दरिलो साथ छ । मेला, महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतीसँगै जान्छन् । विकको आरन व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् । विकका बुबा पदमबहादुर विक पनि अझै गाउँमा आरन पेशा गर्नुहुन्छ । पुख्र्यौली घर ढोरपाटन नगरपालिका–६ अधिकारीचौर भए पनि मनबहादुरले आरनकै कमाइबाट बुर्तिबाङमा घरघडेरी जोड्नुभएको छ । उहाँका दुई छोरा र दुई छोरी अहिले पढाइमा छन् । आफ्नो पुख्र्यौली सीप र पेशालाई सम्मानपूर्वक अँगालेर विक सफल हुनुभएको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा आयोजित मेलामा स्थानीय उत्पादनको किनबेच भइरहेको छ । बागलुङको पहिचानको रूपमा चिनिने डालाडाली, नाङ्ला र ठेकाठेकी बेच्न गाउँका व्यापारी मेलामा झरेका छन् ।
Categorized in रोचक