STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लोकतन्त्र र सङ्घीयता नै काङ्ग्रेसको मुख्य एजेण्डा प्रवक्ता शर्मा

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण २८, मंगलबार

नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताउनुभयो । काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उहाँको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उहाँको जोड थियो । “सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ”, शर्माले भन्नुभयो । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताउनुभयो । मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उहाँको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न काङ्ग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गर्नुभयो । देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताउनुभयो । ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने रु’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि काङ्ग्रेसले पहल गर्ने बताउनुभयो । नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै शर्माले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको बताउनुभयो । समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन काङ्ग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले बोल्नुभएको थियो ।
Categorized in राष्ट्रिय