STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिने मेयर शाक्यको प्रतिबद्धता

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २४, सोमबार

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने बताउनु भएको छ । राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्बोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो ।

मेयर शाक्यले काठमाडौँ महानगरपालिका क्षेत्र भित्र भएका विकास निर्माणका कामको अनुगमन र मतदाताका गुनासा सुन्ने र सुझाव लिने सिलसिलामा आफू धेरै पटक वडा–वडामा पुगेको बताउनु हुँदै यो पटक बजेट निर्माणका सन्दर्भमा पनि सबै वडाका जनप्रतिनिधिको राय–सुझावसहितको आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको ले मेयर शाक्यले सबै वडाध्यक्षलाई वडा समितिका बैठकमा आफूलाई समय मिलाएर बोलाउन आग्रह समेत गर्नुभयो ।

मेयर शाक्यले अहिले योजना नल्याउने अनि पछि मेरो वडामा योजना परेन भनेर गुनासो गर्ने अवस्था नहोस भनेर यस्तो योजना बनाएको पनि बताउनुभयो । उहाँले वडाका अन्य महत्वपूर्ण बैठकमा पनि आवश्यकताका आधारमा उपस्थित भएर छलफल गर्न तयार रहेको जानकारी दिनुभयो ।   

मेयर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो ।  बैठकमा कोभिडको महामारी व्यवस्थापनका लागि गरिएका कामका विषयमा कार्यपालिका सदस्यहरुबाट उठेका जिज्ञासाको उत्तरमा मेयर शाक्यले मानवीयता र मानव जीवन रक्षाका सवाल गरिने कुनै पनि काम सशर्त हुँदैनन् र यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा   निशर्त सहयोग गरेको कुरा बताउनु भयो ।

बैठकले सिटी लाइब्रेरि सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि–२०७८ तर्जुमा गर्न सहमति दिएको छ । यी कार्यविधिहरु विधायन समिति मार्फत कार्यपालिका बैठक हुँदै नगर सभामा पेश हुनेछन् ।

बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट्याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ । यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।

Categorized in उपत्यका