STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वनको दोहनप्रति चिन्ता व्यक्त

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १०, मंगलबार

प्रदेश नं २ का उद्योग, पर्यटन, वन एवं वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा बढ्दै गएको वनको दोहनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ कार्यालयद्वारा सोमबार यहाँ आयोजित औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मन्त्री रायले विभिन्न नाममा वनको दोहनले प्रदेशमा पर्यावरणीय र वातावरणीय समस्या जटिल बन्दै गएको छ भन्नुभयो । उहाँले सङ्घीय सरकारले आठ हजार हेक्टर वनका रूख काटी विमानस्थल बनाउने योजना अघि सार्नुले पनि प्रदेशको वातावरणीय समस्यामा जटिलता उत्पन्न गर्ने भएकाले प्रदेश सरकारले विमानस्थलका लागि चाहिने जग्गा अन्यत्र उपलब्ध गराउने आग्रह गर्दा सङ्घीय सरकार उक्त आग्रहप्रति संवेदनशील नभएको बताउनुभयो । वनको विनाशकै कारण पिउने पानीको सङ्कटका साथै पानीको मुहान सुक्दै सिँचाइको समस्यामा वृद्धि भई मरुभूमिकरणको सङ्केत देखिएको उहाँले बताउनुभयो । मन्त्री रायले प्रदेश सरकार घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्न तयार रहेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा पनि साना उद्योगको विकास गर्ने प्राथमिकता राखेको छ भन्नुभयो । प्रदेशसभा सदस्य रामसरोज यादव, परमेश्वर साह र रानी शर्मा तिवारीले गुणस्तरीय उत्पादन र घरेलु उद्योगको प्रोत्साहनमुखी योजना कार्यान्वयनमा जोड दिनुभयो । कार्यक्रममा घरेलु साना उद्योग कार्यालय प्रमुख सञ्जीव दुबै, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललितकुमार साहले मेलाको महत्वबारे प्रकाश पार्नुभयो । गोपाल धर्मशालाको परिसरमा आयोजित तीनदिने सो मेलामा ७० कक्ष रहेको छ ।
Categorized in राष्ट्रिय