वन्यजन्तुको चोरी शिकार वृद्धि
Janjati Khabar – जनजाति खबर | २०७६ माघ २, बिहिबार
जिल्लाका उच्च भेगमा हिमपात शुरु भएपछि वन्यजन्तुको चोरी शिकार गर्ने कार्य बढेको छ । जिल्लाका जोरायल, मन्नकापडी, नापानी, देउताल, मुस्ताल, गनगडेउडार, अनारखोला, मुथे, चौकुने, बोगटान, अल्लेवन तथा खप्तड क्षेत्र नजिकका जङ्गललगायत जङ्गलमा वन्यजन्तुको चोरी शिकार बढेको छ ।
उच्च लेकारी भेगमा दिनहुँ चारी शिकार भइरहेको स्थानीयवासी डम्मर मौनीले बताउनुभयो । वन्यजन्तुको शिकार गर्नेहरु बन्दुक, भाला, खुकुरी लिएर दिनहुँ जङ्गल जान थालेका उहाँले जानकारी दिनुभयो । जिल्लाका लेकाली भेगमा बाक्लो हिमपात शुरुसँगै वन्यजन्तु बस्ती तथा झाडीतिर आउने भएकाले शिकारी शिकार खेल्न जाने गरेका हुन् । यहाँका शिकारीले कालिज, बँदेल, मृग, घोरल, बँदेल, जरायो, रतुवालगायतका वन्यजन्तुको शिकार गरी सुकुटी बनाएर स्थानीय बजारमा बिक्री गर्ने गरेका छन् ।
शिकार खेल्न स्थानीय आफ्नो छुट्टै समूह बनाइ एक दुई हप्तासम्म जङ्गलमै बस्ने गरेका जोरायल गाउँपालिका–५ का नीरज विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “शिकारी समूह बनाएर जङ्गल छिर्ने गरेका छन्, उनीहरुले भरुवा बन्दुक तथा भाला, पासो प्रयोग गरी वन्यजन्तु मार्न थालेका छन्, रोक्न कसैले सकेको छैन ।” हिमपात भएको समयमा वन्यजन्तुको शिकार गर्न सजिलो हुने भएकाले उनीहरु अहिले हिमपातको मौका छोपी जङ्गल जान थलेका स्थानीयवासी बताउँछन् ।
यतिमात्र नभई यहाँका कतिपय शिकारीले कुकुरसमेत प्रयोग गरेर मृगको शिकारसमेत गर्ने गरेका छन् । शिकारीले मारेका वन्यजन्तुको मासु तथा सुकुटी यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, राजपुर, पिपल्ला, गैरालगायतका ठाउँमा खुलेआम रुपमा बिक्री वितरण हुने गरेको छ । खुलेआम रुपमा वन्यजन्तुको चोरी शिकारसमेत सम्बन्धित निकायले त्यसको रोकथाम गर्न नसकेको स्थानीयवासीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले वन्यजन्तुको चोरी शिकार गर्नेलाई पक्राउ गरी कारवाही गरिने बताउनुभयो । जिल्लाका उच्च भेग पर्ने तेलेलेक, देउताल र खप्तड राष्ट्रिय निकुञ्जमा हिमपात भएपछि वन्यजन्तु नापानी, मुथे, धनाडी, बगर, गोलादेउ, उदैनी, ढोलेपानी तथा दिपायल सिलगढीका विभिन्न जङ्गलमा आउने गर्छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पक्षी तथा वन्यजन्तुको शिकार गर्नेलाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद र नगद रु ५० हजारदेखि रु एक लाखसम्म जरीवाना हुन सक्ने कानुनी प्रावधान छ । अहिलेसम्म जिल्लामा वन्यजन्तु चोरी शिकार गर्ने कोही पनि पक्राउ तथा कारवाहीमा नपर्दा चोरी शिकार गर्नेको मनोबल बढेको बताइएको छ ।
Categorized in अपराध-दुर्घटना