STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वर्षासँगै सुनसान बन्दै ‘होमस्टे’

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

वर्षा शुरु भएसँगै बागलुङका ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ‘होमस्टे’मा पर्यटकको सङ्ख्या घटेको हो । सडकको असुविधा र वर्षाका कारण ‘होमस्टे’मा आउने पर्यटकको सङ्ख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीस्थित सिद्धथान सामुदायिक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताउनुभयो । “हिउँदमा घुम्न आउनेहरुको सहजताका लागि सञ्चालनमा ल्याएको ‘होमस्टे’ अहिले सुनसान छ”, उहाँले भन्नुभयो, “आउँछाँै भनेर फोन गर्छन् तर फोन गरेकैहरु आएका छैनन् ।” पर्यटकीय गाउँको परिचय बनाएको बागलुङ नगरपालिका–१० भकुण्डेको अतिथि सत्कार सामुदायिक ‘होमस्टे’मा पनि पर्यटक आएका छैनन् । वर्षाबाहेक अन्य याममा आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको ‘होमस्टे’ वर्षा शुरु भएसँगै सुनसान बनेको छ । “ अन्य यामममा दिनमै दश÷पन्ध्र पर्यटक कहिल्यै टुटेन”, उक्त ‘होमस्टे’का अध्यक्ष खिमबहादुर थापाले भन्नुभयो, “अहिले घर सुनसान छन्, हामी खेतबारीमा व्यस्त ।” “प्रायः बागलुङका ‘होमस्टे’मा आउने आन्तरिक पर्यटक नै हुन् । वर्षाको बेला घुम्न आउनेहरु पनि काममा व्यस्त हुने भएकाले ‘होमस्टे’ सुनसान बनेको छ,” उहाँले बताउनुभयो, “सहज रुपमा गाडी चल्दैनन्, बाटो सबै हिलाम्मे छन्, घुम्न आउने किन रुज्दै भिज्दै आउँथे र ।” बागलुङमा २८ सामुदायिक ‘होमस्टे’ सञ्चालनमा छन् । “केही महीना पहिला सञ्चालनमा आएका हाम्रो वडाका होमस्टेमा केही दिन मात्रै पर्यटक देखिए”, काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेमबहादुर जिसीले भन्नुभयोे, “अहिले कोही आएजस्तो लागेको छैन ।” सामूहिक रुपमा सञ्चालनमा आएका ‘होमस्टे’हरुमा स्थानीयवासीले १० देखि ३० लाखसम्म लगानी गरेका छन् । वर्षा याममा बिनाकाम बस्नुपर्दा लागानीको प्रतिफल उठाउन कठिन हुने उनीहरु बताउँछन् । “सात परिवारले रू तीन लाखभन्दा धेरै खर्चेका छौँ, जम्मा लगानी रू २० लाख पुग्यो”, सिद्धनाथ सामुदायिक होमस्टेका सञ्चालक पुनले भन्नुभयो, “अन्य बेलाको व्यापारले मात्रै लगानी उठाउनै कठिन छ ।” गल्कोटमा रहेको घुम्टेको लेक, पाण्डवखानीमा रहेका खानीहरु तथा मठमन्दिरको दर्शनका लागि आउने पर्यटकको सुविधाका लागि उनीहरुको घरबास सञ्चालनमा ल्याइएको हो । पर्यटक नभएका कारण ‘होमस्टे’मा देखाउन तयारी भइरहेका सांस्कृतिक समूहले काम पाएका छैनन् । स्थानीय खानाका परिकारका लागि तयार पारिएका गुन्द्रुक, सिस्नो, कोदोको पीठोलगायत सामग्रीसमेत बिग्रिन थालेको सञ्चालकहरुको गुनासो छ ।
Categorized in राष्ट्रिय