STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वालिङ र छाता संस्था नेपालबीच सम्झौता

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २७, बुधबार

स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो । 
छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय सशक्तिकरण परियोजना सञ्चालन गर्न सहयोग गर्ने सम्झौता भएको नगरप्रमुख खाँणले बताउनुभयो । शुरुमा दुई वर्ष अवधि रहने उक्त कार्यक्रम सम्पन्न गर्न रु ९१ लाख ६७ हजार खर्च लाग्ने अनुमान गरिएको छ । 
“यो कार्यक्रम शैक्षिक विकास तथा आयआर्जनसँग जोडिएकाले महत्वपूर्ण र उपयोगी छ” नगरप्रमुख खाँणले भन्नुभयो, “आज सम्झौता भएको यस कार्यक्रम समाज कल्याण परिषद्बाट स्वीकृति प्राप्त भएसँगै लागू हुनेछ ।”
छाता संस्था नेपालले सन् २००५ देखि द्वन्द्वबाट विस्थापित बालबालिका तथा युवाहरुको क्षेत्रमा काम गर्दै आइरहेको संस्थाका अध्यक्ष आलेले बताउनुभयो । “हामीले न्यूनतम मापदण्ड पनि नभएका बालगृहबाट सम्बन्धित सरकारी निकायको सहकार्यमा उद्धार गरी परिवारको जिम्मा लगाउँदै आएका छौँ” अध्यक्ष आलेले भन्नुभयो, “संस्थाले हालसम्म २० बढी जिल्लामा २०० बढी बालबालिकालाई परिवारसँग पुनरमिलन गराएको छ ।”
 
            
Categorized in राष्ट्रिय