STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

वास्तविक पीडित अझै समस्यामा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २३, बिहिबार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कास्कीद्वारा अन्नपूर्ण गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले वास्तविक पीडित अझै समस्यामा रहेको गुनासो गरेका छन् । 
 
प्राधिकरणबाट समयमा किस्ता रकम निकासा हुन नसकेको, गुनासोको बेवास्ता गरिएको, प्राविधिक आउनुअघि नै बनाइएका घरको अनुदान पाउन समस्या भएको, कार्यविधि नभएको बहानामा किस्ता रकम रोकिएको तथा प्रवलीकरण र पुनःनिर्माणका विषयमा अझै पनि अन्योलता रहेको गुनासो उनीहरुले गरेका हुन् । 
 
सो अवसरमा गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले वास्तविक पीडितले अझै राहत नपाएको र टाठाबाठाले मात्रै सुविधा पाउने अवस्था रहेकाले त्यसमा तत्काल सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 
 
सवलीकरण तथा पुनःनिर्माणका लागि अझै पनि प्राविधिक जनशक्तिको अभाव रहेकाले त्यसका लागि तत्काल व्यवस्था गर्नुपर्ने बताउँदै उहाँले भूकम्पपीडितले भोग्नुपरेको समस्याको जानकारी अझै पनि गाउँपालिकासम्म नआउने अवस्था विद्यमान रहेको हुँदा यसको न्यूनीकरणका लागि गाउँपालिकाले फोकल पर्सनको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
 
अन्नपूर्ण गाउँपालिकाका–१, २ र ३ का वडाध्यक्षहरु क्रमशः भरतबहादुर कुँवर, चूडामणि अधिकारी र चन्द्रबहादुर गुरुङले पुनःनिर्माणको काममा निर्वाचित जनप्रतिनिधिलाई पनि जिम्मेवार बनाउनुपर्ने, किस्ता रकम समयमा नै निकासा दिनुपर्ने, कामको प्रगति तथा समस्याका बारेमा वडा कार्यालयमा पनि जानकारी दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । 
 
जिल्ला आयोजना कार्यान्वयन एकाइका वरिष्ठ इञ्जिनीयर नवराज शर्माले प्राविधिक नपुग्दै बनेका घरको सन्दर्भमा गत भदौमा नै एकमुण्ठ रु तीन लाख दिने निर्णय भए पनि कार्यविधि आइ नसकेकाले ढिलाइ भएको बताउनुभयो ।
 
उहाँले कार्यविधि आउनासाथ यस विषयको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पपीडित एकल महिला, अशक्त तथा अपाङ्गता भएमा थप रु ५० हजार अनुदान पाउने व्यवस्था भएको जानकारी पनि उहाँले दिनुभयो । 
 
अन्नपूर्ण गाउँपालिकामा कूल ३९५ लाभग्राहीमध्ये ३५३ ले सम्झौता गरी पहिलो किस्ताबापतको रु ५० हजार बुझेको छ । अझै ४२ जनाले सम्झौता गर्न सकेका छैनन् । 
 
घर सम्पन्न गरी तेस्रो किस्ता लिनेको सङ्ख्या ७५ पुगेको र दोस्रो किस्ता १७९ जनाले लिइसकेको र हाल १० वटा घर निर्माणका क्रममा रहेको पनि उक्त अवसरमा जानकारी दिइयो । 
Categorized in राष्ट्रिय