STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विदेशी पाहुनाबाट चन्द्रागिरि र स्वयम्भूको अवलोकन

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २८, शनिबार

इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी पाहुनाले आज चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गर्नुभएको छ । काठमाडाँै महानगरपालिका र चन्द्रागिरि नगरपालिकाले करीब ५० जना विदेशी पाहुनालाई चन्द्रागिरि र स्वयम्भूको अवलोकन भ्रमण गराएका हुन् । त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाबारे जानकारी लिनुभएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी गराउनुभयो । उहाँहरुले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गर्नुभएको थियो । भुटान थिम्पु शहरका प्रमुख किन्ले दोर्जेले नेपालको संस्कृति विश्वको उत्कृष्ट भएको उल्लेख गर्दै नेपालले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गरेकामा खुशी व्यक्त गर्नुभयो । “अन्य देशमा विकास हुँदा संस्कृति नाश भएर जाने गरेको छ”, उहाँले भन्नुभयो, “तर नेपालमा विकास भए पनि संस्कृतिलाई जोगाएर राखेको पाइयो ।” उहाँले कला संस्कृतिले मानिसलाई सुखी बनाउने भन्दै भुटानमा पनि पर्व हुने गरेको तर यहाँको इन्द्रजात्राजस्तो पर्व कहिल्यै नदेखेको बताउनुभयो । उहाँले भूटानमा अधिकांश मानिसले बौद्धधर्म मान्ने गरेको उल्लेख गर्दै आगामी वर्ष हुने नेपाल भ्रमण वर्ष–२०२० मा भूटानबाट धेरैभन्दा धेरै मानिस आउने दाबी गर्नुभयो । नर्थदिल्ली नगरपालिका कर्पोरेशन, भारतका प्रमुख अफ्तर सिंहले नेपालको भौगोलिक वातावरण नै सुन्दर रहेको उल्लेख गर्दै यहाँका कला संस्कृति राम्रो लागेको बताउनुभयो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले विदेशी पाहुनालाई चन्द्रागिरिको ऐतिहासिकताबारे जानकारी गराउनुभयो । सोही अवसरमा चन्द्रागिरि नगरपालिकाले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेको थियो । इन्द्रजात्रा देखाउनका लागि काठमाडौँ महानगरले चीन, अमेरिका, भारत, बङ्गलादेश र भुटानका भगिनी सम्बन्ध भएका शहर तथा अन्य जनप्रतिनिधिलाई निमन्त्रणा गरेर बोलाएको थियो । यसैगरी आइतबार उहाँहरुलाई पाटन दरबार र भक्तपुर दरबारमा घुमाउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख शाक्यले विदेशी पाहुनालाई नेपालको कला, संस्कृतिबारे जानकारी गराउनका लागि नेपाल बोलाइएको जानकारी गराउनुभयो । उहाँले अहिले आएका विदेशी पाहुनाले नजिकिँदै आएको नेपाल भ्रमण वर्षलाई पनि सहयोग पु¥याउने बताउनुभयो ।
Categorized in राष्ट्रिय