STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थी भर्ना अभियान तीव्र

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ५, बिहिबार

 कञ्चनपुरका विभिन्न स्थानीय तहमा विद्यार्थी भर्ना अभियानले तीव्रता पाएको छ । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नाराका साथ यहाँका नौ वटै स्थानीय तहमा विद्यार्थी भर्ना अभियान शुरु भएको हो ।
भीमदत्त नगरपालिकाको शिक्षा शाखाले पनि नगरपालिकाका १९ वटै वडामा उत्साहका साथ सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा प्रतिनिधि र अभिभावकहरु विद्यार्थी भर्ना अभियानका लागि घरदैलोमा पुगिरहेको जनाएको छ । “पहिलो चरणमा नियमितरूपमा गत वैशाख २ गतेदेखि साताव्यापी भर्ना अभियान चलेको छ”, नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्करप्रसाद भट्टले भन्नुभयो, “नगरपालिकाले विद्यार्थीलाई भर्नाका लागि स्कूलमा ल्याउने पहिलो अभिभावकहरुलाई सम्मानका साथै विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत निःशुल्क दिनेछौँ ।”
संविधानअनुसार विद्यालय सञ्चालन अधिकार स्थानीय सरकार मातहत रहेकाले कञ्चनपुरमा पनि स्थानीय तहले मातहतका सबै विद्यालयमा विद्यार्थी भर्ना अभियानलाई तीव्रता दिएको छ । विद्यालय बाहिर रहेका विद्यालय जाने उमेरका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले विसं २०६१ देखि विद्यार्थी अभियान थालिएको थियो । नगरपालिकाले वैशाख ८ गतेपछि दोस्रो चरणको भर्ना अभियानलाई सञ्चालन गर्ने शिक्षा शाखा प्रमुख भट्टको भनाइ छ । 
त्यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पनि भर्ना अभियानलाई तीव्रता दिएको प्रवक्ता जगतबहादुर सिंहले जानकारी दिनुभयो । “सरकारकै नीतिअनुसार हामीले पनि नगरपालिकाभित्रका सबै क्षेत्रमा भर्ना अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण बढेको देखिन्छ ।”
त्यस्तै कृष्णपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख दीपकराज कलौनीले नगरपालिकामा सबैतिर भर्ना अभियान सञ्चालन भएको जानकारी दिनुभयो । उहाँले सरकारले विद्यार्थीलाई दिने सहुलित, छात्रवृत्तिदेखि अन्य सुविधाका विषयमा पनि अभिभावकलाई जानकारी गराइरहेको बताउनुभयो ।
“पहिलो चरणपछि फेरि प्रधानाध्यापक डाकेर समीक्षासमेत गर्ने भनेका छौँ”, उहाँले भन्नुभयो, “हरेक हिसाबले सामुदायिक विद्यालय अब्बल छन् ।” उहाँले कृष्णपुरमा ३४ सामुदायिक र २० निजी विद्यालय रहेको जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय