STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यालयलाई जग्गा दान

Janjati Khabar – जनजाति खबर | २०७६ माघ ७, मंगलबार

सङ्खुवासभाको मादी नगरपालिका–८ स्थित मावादिनमा सञ्चालित सरस्वती माविलाई स्थानीय सावित्रा लिङ्थेपले आफ्ना पितृहरुको सम्झनामा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । लिङ्थेपले आफ्ना स्व सासू फिपरानी लिम्बू¸ ससुरा हस्तबहादुर लिम्बू र श्रीमान् गणेशमान लिङ्थेपको स्मरणमा छोरी तिलकुमारी लिङ्थेपका नाममा रहेको विद्यालयको सिमानासँगै जोडिएको करीब रु पाँच लाख मूल्य बराबरको छ रोपनी जग्गा निःशुल्क विद्यालयलाई उपलब्ध गराउनुभएको हो । जग्गा प्राप्तिसँगै विद्यालयको आवश्यक खेल मैदान र थप नयाँ भवन निर्माणका लागि सहज हुने स्थानीय समाजसेवी एवं विद्यालयका शिक्षक हर्ककुमार राईले बताउनुभयो । शिक्षक राईका अनुसार विसं २०१७ मा स्थापना भएको विद्यालयमा अहिले बालकक्षादेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । विद्यालयले निःशुल्क जग्गा प्राप्ति गरेसँगै कक्षा ११ र १२ सञ्चालनका लागि समेत थप सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक मातृकाप्रसाद दाहालले बताउनुभयो । अहिले कक्षा ११ र १२ पढ्नका लागि साविक मावादिन गाविसका दुई वडाभित्र सञ्चालित तीन माध्यमिक विद्यालयमा अध्ययनरत छात्रछात्रा मादी, चैनपुर, पोखरीलगायत जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई चिर्ने उद्देश्यका साथ विद्यालयले जग्गाको खोजी गरिरहेको बेला समाजसेवी महिला लिङ्थेपले गरेको उदाहरणीय कामको मावादिन क्षेत्रमा सर्वत्र प्रशंसा भइरहेको वडाध्यक्ष पासाङ शेर्पाले बताउनुभयो । हाङ्थाना मावि फाविङ, सरस्वती मावि मावादिन र जनता मावि बाघामा अहिलेसम्म कक्षा १० सम्म मात्र पढाइ हुँदै आइरहेको छ ।
Categorized in राष्ट्रिय