STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्युत् प्राधिकरणलाई करोडौँको जग्गा दान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ९, बिहिबार

गलकोट नगरपालिका–४ डाँडाखेत निवासी चुडामणि शर्माले नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रलाई रु एक करोड मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । केन्द्रले गलकोट प्रशाखा स्थापनाका लागि जग्गा खोजी गरिरहे पनि तीव्र शहरीकरण भएको गलकोट नगरपालिकामा आवश्यक जग्गा नपाउँदा समस्या भइरहेको थियो । आफ्ना स्व बाबा डण्डपाणि शर्माको स्मृतिमा गलकोट नगरपालिका–२ नरेठाटीस्थित मध्यपहाडी लोकमार्गसँगैको दुई रोपनी तीन दाम दुई पैसा जग्गा प्राधिकरणको नाममा नामसारी गरेको उहाँले बताउनुभयो । “गलकोटमा कार्यालयको सेवा प्राप्त गर्नु पश्चिमवासीकै लागि खुशीको कुरा हो”, दाता शर्माले भन्नुभयो, “आफ्ना बाबुबाजेको जग्गामा सरकारी कार्यालय स्थापनाका लागि जग्गा प्रदान गर्दा म खुशी छु ।” जिल्लामा पहिलोपटक सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै उक्त केन्द्रले प्रशाखा स्थापना गर्न लागेको केन्द्रका प्रमुख कपिलराज पाण्डेयले बताउनुभयो । यही जेठ ७ गते मङ्गलबार मात्र जग्गादाताले प्राधिकरणको नाममा जग्गा नामसारी गरिदिएको उहाँको भनाइ थियो । “हामी लामो समयदेखि प्रशाखा स्थापनाका लागि जग्गाको खोजीमा थियौँ”, प्रमुख पाण्डेयले भन्नुभयो, “निःशुल्क प्राप्त भएको जग्गामा तत्कालै प्रशाखा भवन निर्माण थाल्नेछौँ ।” उहाँका अनुसार प्रशाखा स्थापना भएपछि पश्चिम बागलुङका सेवाग्राही जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य हुनेछ । प्रशाखाबाट विद्युत् मिटर वितरणलगायत वितरण केन्द्रबाट गरिनै सबै प्रकारका सेवा उपलव्ध गराइने जनाइएको छ ।
Categorized in राष्ट्रिय