STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विपन्न महिलालाई अनुदान

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १५, आइतबार

शहीद लखन गाउँपालिकाले पालिकाभित्रका विपन्न महिलालाई आयआर्जन वृद्धिका लागि अनुदान प्रदान गरेको छ । 
गाउँपालिकाले नौ वडाका ६३ विपन्न महिलालाई अनुदान उपलब्ध गराएको गाउँपालिकाका पशु सेवा शाखाका प्रमुख सुदीप विकले जानकारी दिनुभयो । “सबै वडाका विपन्न महिला जो दैनिक जीविकोपार्जन गर्न समस्यामा परेका छन्, उहाँहरुलाई छनोट गरेर अनुदान सहयोग गरिएको हो”, प्रमुख विकले भन्नुभयो, “अनुदान सहयोग गरिएका सबैलाई सम्बन्धित वडा कार्यालय तथा महिला सहकारी संस्थाले नै छनोट गरेर पठाएको हो ।”
  विपन्न महिलालाई प्रदान गरिएकोे अनुदान रकमबाट उहाँहरुले दैनिक आर्यआर्जन हुने खालका साना–साना व्यवसायमा लगानी गर्ने उहाँले बताउनुभयो । “अनुदान पाउने विपन्न महिलामध्ये कसैले बङ्गुर पाठा किन्ने, कसैले बाख्राको व्याड पाठी किन्ने र कसैले तरकारी खेतीमा लगानी गर्नु हुनेछ”, उहाँले भन्नुभयो, “जुनजुन व्यवसायमा लगानी गरेपनि उहाँहरुको आर्थिक आयआर्जनमा वृद्धि गर्न सकियोस् भन्ने हाम्रो लक्ष्य हो ।”
छनोटमा परेका सबै महिलालाई प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान उपलब्ध गराइएको शाखा प्रमुख विकको भनाइ छ । “यो अनुदान टेवा पूँजीवापतको अनुदान सहयोग हो, हामीले उपलब्ध गराएको अनुदानमा उहाँहरुले पनि केही रकम थप गरी थोरै भए पनि आम्दानीको बाटो बनाउन सके घरखर्च सञ्चालन गर्न सजिलो हुन्छ भन्ने सोच राखेर गाउँपालिकाले चालू आर्थिक वर्षका लागि रु तीन लाख १५ हजार रकम विनियोजन गरेको थियो”, उहाँले भन्नुभयो । अनुदान रकम गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले प्रदान गर्नुभएको हो ।
गाउँपालिकाले अनुदान प्राप्त गर्ने सबैलाई थोरै रकमबाट पनि कसरी राम्रो आयआर्जन बढाउन सकिन्छ भन्ने विषयमा एकदिने अभिमुखीकरण तालीमसमेत प्रदान गरेको उहाँको भनाइ छ । 
“अधिकांशलाई कसरी आयआर्जन गर्न सकिन्छ भन्ने समेत थाहा नभएको पाइयो, अनुदान रकम अन्य कामका लागि खर्च भएमा आर्थिक उर्पाजन गर्ने बाटो नै हँुदैन’’, शाखा प्रमुख विकले भन्नुभयो । कार्यक्रमले विपन्न परिवारलाई दैनिक जीविकोपार्जनमा सजिलो हुने उहाँको भनाइ छ । 
Categorized in राष्ट्रिय